तरुण खबर
१ भाद्र २०८२, आईतवार ११:४१
काठमाडाैं, १ भदाै । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा झन्डै २ खर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। २० वटै बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरूले कुल १ खर्ब ९० अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन्। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.०८ प्रतिशतले कमी हो, जतिबेला बैंकहरूले १ खर्ब ९२ अर्ब ७२ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका थिए।
आठ बैंकको आम्दानी घट्यो
गत वर्ष अधिकांश बैंकहरूको ब्याज आम्दानीमा वृद्धि भए पनि ८ वटा बैंकको आम्दानी घटेको छ। सबैभन्दा धेरै ब्याज आम्दानी गर्नेमा ग्लोबल आइएमई बैंक र नबिल बैंक शीर्ष स्थानमा रहेका छन्। ग्लोबल आइएमईले १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.८५ प्रतिशतले कम हो। यस्तै, नबिल बैंकले १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षभन्दा सामान्य बढी हो।
यसरी बढ्यो ब्याज आम्दानी
एभरेष्ट बैंकले सबैभन्दा धेरै १९.३६ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ, जसबाट बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ कमाएको छ। त्यसपछि नेपाल बैंकले १६.८२ प्रतिशत, माछापुच्छ्रे बैंकले १५.४१ प्रतिशत, प्राइम बैंकले ११.९२ प्रतिशत, सिटिजन्स बैंकले ११.२० प्रतिशत र एनएमबी बैंकले ११.१४ प्रतिशतले आफ्नो ब्याज आम्दानी बढाएका छन्।
यसबाहेक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १४ अर्ब १२ करोड ८१ लाख, कुमारी बैंकले ११ अर्ब ५५ करोड ४३ लाख, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ३७ करोड ६३ लाख र हिमालयन बैंकले १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। प्रभु बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायत ८ वटा बैंकको ब्याज आम्दानी भने घटेको छ।


