तरुण खबर
१ भाद्र २०८२, आईतवार ११:४९
काठमाडाैं, १ भदाै । मुलुकको मोटर व्यवसायमा आएको सकारात्मक परिवर्तनसँगै आईएमई मोटर्सले आफ्नो कारोबारमा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सन् २०२५ को पहिलो नौ महिनामै २ अर्ब २१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। यो वर्षको अन्त्यसम्ममा कुल कारोबार ३ अर्ब नाघ्ने अनुमान गरिएको छ।
कम्पनीले पछिल्ला केही वर्षमा आफ्नो व्यापारमा उतारचढाव भोगे पनि अहिले फेरि लयमा फर्किएको देखिन्छ। सन् २०२४ मा कम्पनीले २ अर्ब ३४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १ अर्ब ७५ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो।
नाफा मार्जिनमा वृद्धि
आर्थिक वर्ष २०२५ को ९ महिनामा कम्पनीको सञ्चालन नाफा १०.८ प्रतिशत पुगेको छ, जुन अशोक लेल्यान्डको आधिकारिक बिक्रेता बनेयताकै सबैभन्दा उच्च हो। रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनअनुसार, कम्पनीको तरलता व्यवस्थापनमा पनि सुधार आएको छ। चालु पुँजी कर्जा कुल व्यापारको ७७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष १५५ प्रतिशत थियो।
कर्जा र उधारोमा सुधार
कम्पनीले साढे २ अर्ब रुपैयाँ हाराहारीको कर्जा लिएको अनुमान गरिएको छ, जसमध्ये २ अर्ब १२ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब १२ करोड १० लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ। कम्पनीको उधारो कारोबारको औसत अवधि पनि घटेर २२९ दिनमा झरेको छ, जुन अघिल्लो वर्ष ३६५ दिन थियो। यसले कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएको संकेत गर्छ।
आईएमई ग्रुप अन्तर्गतको यो कम्पनीले सन् २०१७ देखि अशोक लेल्यान्डका बस, ट्रक, टिपर लगायतका सम्पूर्ण कमर्सियल सवारीसाधनको बिक्री गर्दै आएको छ। अहिले विशेष गरी अशोक लेल्यान्डका बस र इन्टरमिडिएट कमर्सियल सवारीसाधनको माग उच्च रहेको कम्पनीले जनाएको छ।


