तरुण खबर
१ भाद्र २०८२, आईतवार ११:५५
काठमाडाैं, १ भदाै । भदौ १ गतेदेखि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर लागू गरेका छन्। यस महिनामा पनि मुद्दति निक्षेपको औसत ब्याजदर ५.५७ प्रतिशत कायम भएको छ, जुन साउनमा ५.६९ प्रतिशत थियो। संस्थागत निक्षेपतर्फ औसत ब्याजदर घटेर ३.९६ प्रतिशत पुगेको छ, जबकि साउनमा यो ४.११ प्रतिशत थियो।
भदौ महिनामा प्रभू बैंकको ब्याजदर बढेको देखिन्छ। गत साउनमा व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत दिने प्रभूले भदौमा बढाएर ५.३५ प्रतिशत तोकेको छ। तर संस्थागत निक्षेपमा भने ३.२५ प्रतिशत कायम राखेको छ।
एभरेष्ट बैंकले व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ। साउनमा क्रमशः ६.२५ र ५.२५ प्रतिशत थियो। त्यस्तै, सानिमा बैंकले व्यक्तिगतमा ५.७५ र संस्थागतमा ३.७५ प्रतिशत, कुमारी बैंकले व्यक्तिगतमा ५.२१ र संस्थागतमा ४.०१ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगतमा ५ र संस्थागतमा ४ प्रतिशत ब्याज तोकेको छ।
कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ५.२ प्रतिशत र संस्थागतमा २.८५ प्रतिशत दिने भएको छ। नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ५.२५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत तोकेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगतमा ५.१३ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ। यी सबै बैंकहरूले साउनको तुलनामा ब्याजदर घटाएका हुन्।
उता, ११ वटा बैंकले साउनकै दरलाई निरन्तरता दिएका छन्। तीमध्ये माछापुच्छ्रे, प्राइम, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले व्यक्तिगत निक्षेपमा ६ प्रतिशत ब्याज दिने भएका छन्। संस्थागततर्फ क्रमशः ४, ३.१, ४.२५, ५ र ५ प्रतिशत कायम छ।
राष्ट्रिय वाणिज्य बैंक, नबिल र सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा समान ५.५ प्रतिशत दिनेछन्। संस्थागतमा भने क्रमशः ४, ४.०५ र ३ प्रतिशत कायम गरेका छन्।
नेपाल बैंकले भदौका लागि व्यक्तिगतमा ५.४ प्रतिशत र संस्थागतमा ३.७५ प्रतिशत तोकेको छ। एनआइसी एशिया बैंकले भने व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।
यसरी, भदौ महिनामा कतिपय बैंकले ब्याजदर घटाएका छन् भने केहीले वृद्धि गरेका छन्। समग्रमा हेर्दा, व्यक्तिगत निक्षेपमा ६.२५ प्रतिशतसम्म र संस्थागत निक्षेपमा ५.२५ प्रतिशतसम्म ब्याजदर पाउन सकिने देखिएको छ।


