रुस–युक्रेन शान्तिका लागि ट्रम्पको सक्रियता, युक्रेनी राष्ट्रपति जेलेन्स्की वाशिङगटनमा

रुस–युक्रेन शान्तिका लागि ट्रम्पको सक्रियता, युक्रेनी राष्ट्रपति जेलेन्स्की वाशिङगटनमा तरुण खबर १ भाद्र २०८२, आईतवार १२:१६
रुस–युक्रेन शान्तिका लागि ट्रम्पको सक्रियता, युक्रेनी राष्ट्रपति जेलेन्स्की वाशिङगटनमा

काठमाडाैं, १ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धको समाधानका लागि नयाँ पहल सुरु गरेका छन्। अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उनले युरोपेली नेताहरूसँग फोनमा कुरा गर्दै अगस्ट २२ सम्ममा पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न चाहेको बताएका छन्।

ट्रम्पसँगको टेलिफोन वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्की वाशिङगटनमा भेट्न सहमत भएका छन्। जेलेन्स्कीले सोमबार वाशिङगटनमा ट्रम्पसँग हुने भेटको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्। अमेरिकी सञ्चार माध्यम एक्सियोसका अनुसार, ट्रम्पले ह्वाइट हाउसमा हुने उक्त बैठकमा युरोपेली नेताहरूलाई पनि आमन्त्रण गरेका छन्।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले सोमबार जेलेन्स्की र ट्रम्पबीचको बैठकपछि त्रिपक्षीय शिखर सम्मेलन हुने अपेक्षा गरिएको बताएका छन्। तर, रुसले भने त्रिपक्षीय बैठकमा सहभागी हुनेबारे कुनै जानकारी दिएको छैन।

रुसी समाचार एजेन्सी तासले अमेरिकी मिडियालाई उद्धृत गर्दै ट्रम्पले युरोपेली नेताहरूसँगको वार्तामा एउटा शान्ति सम्झौताको प्रस्ताव राखेको जनाएको छ। यो प्रस्तावअनुसार, युक्रेनले रुसलाई डोनबास क्षेत्र हस्तान्तरण गर्नेछ र त्यसको बदलामा युक्रेन र युरोप दुवैलाई सुरक्षाको ग्यारेन्टी प्रदान गरिनेछ।

अगस्ट १५ मा अलास्कामा भएको ट्रम्प र पुटिनबीचको तीन घण्टा लामो भेटवार्तालाई ट्रम्पले ‘धेरै उपयोगी’ भनेका थिए।