२१२ वर्षअघिको जितको सम्झनामा पाल्पामा ऐतिहासिक भगवती जात्रा

२१२ वर्षअघिको जितको सम्झनामा पाल्पामा ऐतिहासिक भगवती जात्रा तरुण खबर १ भाद्र २०८२, आईतवार १२:२०
२१२ वर्षअघिको जितको सम्झनामा पाल्पामा ऐतिहासिक भगवती जात्रा

काठमाडाैं, १ भदाै । नेपाल-अङ्ग्रेज युद्धमा नेपाली सेनाले हासिल गरेको विजयको सम्झनामा पाल्पामा आज ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्रा आयोजना गरिँदैछ। यो २१२ औं भगवती खट यात्रा हो, जसलाई पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन विजयोत्सवका रूपमा मनाइन्छ।

इतिहासअनुसार, वि.सं. १८७१-१८७२ मा भएको युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले बुटवलको जितगढीमा ब्रिटिस सेनालाई पराजित गरेको थियो। सोही विजयपछि कर्णेल थापाले तानसेनमा भगवतीको मन्दिर स्थापना गरी विजयोत्सव मनाउने भाकल गरेका थिए। वि.सं. १८७६ मा मन्दिर निर्माणपछि १८७७ सालदेखि हरेक वर्ष निरन्तर रूपमा यो जात्रा मनाइँदै आएको छ।

यस वर्षको जात्रामा विशेष तयारी

यस वर्षको भगवती जात्राको तयारी पूरा भएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताएका छन्। जात्रालाई व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गरिएको उनले जनाए। जात्राले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

जात्रामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति बलाधिकृत रथी अशोकराज सिग्देल लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ। मूल पुरोहितद्वारा तान्त्रिक विधिअनुसार पूजा र बलिको कार्यक्रमपछि ठिक १२:३० बजे भगवतीको प्रतिमूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराइनेछ।

रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी र विभिन्न संघसंस्थाको सहभागिता रहनेछ। जात्राको शान्ति र सुरक्षाका लागि जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। जात्राका लागि प्रदेश सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।