तरुण खबर
४ भाद्र २०८२, बुधबार १२:२०
काठमाडाैं, ४ भदाै । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६८ हजार ११० जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले जारी गरेको तथ्यांकअनुसार, यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो। गत वर्षको साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए।
यसपटक श्रम स्वीकृति पाउनेमध्ये ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ महिला छन्। विभागका अनुसार, व्यक्तिगत रूपमा ११ हजार ७७२ जना (८,५४७ पुरुष र ३,२२५ महिला) र मेनपावर कम्पनीमार्फत ३१ हजार ८३० जना (२९,१३० पुरुष र २,७०० महिला) ले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ (२०,५४७ पुरुष र ३,०९७ महिला) रहेको छ भने जीटूजी प्रक्रियामार्फत ८६४ जना (७२४ पुरुष र १४० महिला) विदेशिएका छन्।
ठगीका उजुरी र विदेशीको श्रम स्वीकृति
साउन महिनामा वैदेशिक रोजगारीमा ठगीसम्बन्धी ५८० वटा उजुरी परेका छन्। तीमध्ये ७४ वटा उजुरीमा मिलापत्र गराइएको छ भने २६ वटा अदालतमा पुगेका छन्।
यसैगरी, सोही अवधिमा नेपालमा काम गर्नका लागि ९८ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका छन् भने ९४ जनाले श्रम स्वीकृति नवीकरण गराएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार, गत आर्थिक वर्षमा ८९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १,६६७ जनाले नवीकरण गरेका थिए।
विदेशमा मृत्यु र शव व्यवस्थापन
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार, गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका ४८१ जनाको शव नेपाल ल्याइएको थियो। साउन महिनामा मात्रै विदेशमा ज्यान गुमाएका ३९ जनाको शव नेपाल झिकाइएको छ।


