तरुण खबर
५ भाद्र २०८२, बिहीबार ११:२२
काठमाडाैं, ५ भदाै । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका बैंकहरूको सेयर कारोबारबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, सेयर कारोबारबाट भएको नाफा ५३.५७% ले बढेर कुल ९ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ११ करोड १ लाख रुपैयाँ थियो। नेपाल राष्ट्र बैंकले बैंकहरूलाई चुक्ता पुँजीको १ प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न दिने प्रावधानका कारण यो वृद्धि सम्भव भएको हो। बैंकहरूले गरेको यो लगानीबाट प्राप्त आम्दानीलाई ‘नेट ट्रेडिङ इन्कम’ अन्तर्गत देखाउनुपर्छ।
गत वर्ष सबै २० वटै बैंकहरूको सेयर कारोबारबाट हुने आम्दानीमा वृद्धि भएको छ। सबैभन्दा धेरै आम्दानी गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। बैंकले गत वर्ष ९१ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.८५% बढी हो। दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन ६३.१५% को वृद्धि हो।
यसका साथै, अन्य प्रमुख बैंकहरूले पनि राम्रो आम्दानी गरेका छन्। नबिल बैंकले ७६ करोड ८१ लाख, स्ट्याण्र्डर्ड चार्टर्ड बैंकले ७६ करोड १० लाख, हिमालयन बैंकले ६३ करोड २५ लाख, सानिमा बैंकले ५९ करोड ३३ लाख, कृषि विकास बैंकले ५७ करोड ८५ लाख, र प्रभू बैंकले ५४ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन्। अन्य बैंकहरू जस्तै लक्ष्मी सनराइज, एभरेष्ट, सिद्धार्थ, कुमारी, एनएमबि, माछापुच्छ्रे, सिटिजन्स, नेपाल एसबिआई, प्राइम, नेपाल बैंक, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकले पनि सेयर कारोबारबाट करोडौं रुपैयाँ आम्दानी गरेका छन्।


