नबिल बैंक ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित तरुण खबर ५ भाद्र २०८२, बिहीबार ११:२६
नबिल बैंक ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित

काठमाडाैं, ५ भदाै । नेपालको अग्रणी बैंक नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ। युरो मनी म्यागजिनद्वारा प्रदान गरिने यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, बैंकको दिगो बैंकिङका विभिन्न पहलहरूलाई उच्च मूल्याङ्कन गर्दै दिइएको हो।

बैंकले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको उत्कृष्ट बैंकिङ सेवा, प्रविधिको सफल प्रयोग, र विशेष गरी दिगोपनाको क्षेत्रमा गरेको पहलका आधारमा यो अवार्ड प्राप्त गरेको हो। नबिल बैंकले विगत पाँच वर्षदेखि नै नेपालको दिगो विकास लक्ष्य (एसडीजी) लाई आफ्नो रणनीतिमा समावेश गर्दै वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी सिद्धान्तहरूलाई आफ्नो कारोबारमा लागू गर्दै आएको छ।

नबिल बैंकले कार्बन फुटप्रिन्ट घटाउने, जिम्मेवार बैंकिङलाई प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ। बैंकको यिनै कार्यसम्पादन र दिगो बैंकिङका लागि गरेको प्रतिबद्धताको कदर गर्दै युरो मनी म्यागजिनले लामो अध्ययन र विश्लेषणपछि यो सम्मान प्रदान गरेको हो।

यसअघि पनि नबिल बैंकले सन् २०१०, २०२०, २०२१, २०२२ र २०२४ मा विभिन्न विधामा युरो मनी अवार्ड फर एक्सिलेन्स प्राप्त गरिसकेको छ। हाल, नबिल बैंकले देशभरिका २६८ शाखा र ३२१ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैंक नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरू ल्याउन र बैंकिङ विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।