वैदेशिक रोजगारीको नाममा ठगी बढ्दो, ११ महिनामा ५ हजारभन्दा बढी उजुरी

वैदेशिक रोजगारीको नाममा ठगी बढ्दो, ११ महिनामा ५ हजारभन्दा बढी उजुरी तरुण खबर ५ भाद्र २०८२, बिहीबार ११:४९
वैदेशिक रोजगारीको नाममा ठगी बढ्दो, ११ महिनामा ५ हजारभन्दा बढी उजुरी

काठमाडाैं, ५ भदाै । वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनामा उल्लेख्य वृद्धि भएको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार, पछिल्लो ११ महिनामा मात्रै ठगीसम्बन्धी ५ हजार ५५४ वटा उजुरी प्राप्त भएका छन्।

विभागको प्रगति विवरणअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा ठगीका ४ हजार ९७४ उजुरी दर्ता भएका थिए। यस्तै, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा थप ५८० वटा उजुरी परेका छन्।

विभागको मुद्दा तथा अनुसन्धान शाखामा परेका उजुरीमध्ये गत आर्थिक वर्षमा ५२८ वटा मिलापत्रमार्फत समाधान भएका छन् भने २१५ वटा मुद्दा अदालतमा पुगेका छन्। यी मिलापत्र र कारबाहीबाट पीडितलाई ३२ करोड ८७ लाख रुपैयाँ भन्दा बढी क्षतिपूर्ति भराइएको छ।

त्यसैगरी, साउन महिनामा दर्ता भएका ५८० उजुरीमध्ये ७४ वटामा मिलापत्र गराइएको छ र २६ वटा मुद्दा अदालतमा पठाइएको छ। यो एक महिनामा मात्रै मिलापत्रबाट साढे ३ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति भराइएको विभागले जनाएको छ।

विभागको प्रहरी शाखामा पनि गत आर्थिक वर्षमा ५ हजार ३३७ वटा उजुरी दर्ता भएका थिए, जसमध्ये ४ हजार ८७६ वटा फर्छ्योट भइसकेका छन्। साउन महिनामा थप ५२२ मुद्दा दर्ता हुँदा ४४३ वटा फर्छ्योट भएका छन्।

वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढ्नुका साथै ठगीका घटना पनि बढ्दै गएका छन्। गत आर्थिक वर्षमा ८ लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएका थिए। पीडित हुनेहरूमा प्रायः घरगाउँकै आफन्त, वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी र एजुकेसन कन्सल्टेन्सीहरूबाट ठगिने गरेको पाइएको छ। सम्बन्धित निकायले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि ठगीका घटना नियन्त्रण गर्न चुनौती देखिएको छ।