तरुण खबर
५ भाद्र २०८२, बिहीबार ११:५३
काठमाडाैं, ५ भदाै । अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाली नागरिकहरूलाई दिइएको ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (टीपीएस) सम्बन्धी ट्रम्प प्रशासनको निर्णयलाई सदर गर्दै टीपीएस सुविधा खारेज गर्ने बाटो खोलिदिएको छ। यो निर्णयले अमेरिकामा रहेका हजारौं नेपाली टीपीएस धारकहरूलाई ठूलो धक्का पुगेको छ।
यसअघि संघीय जिल्ला अदालतले नेपालसहित होन्डुरस र निकारागुआका करिब ६० हजार टीपीएस धारकहरूको सुविधालाई निरन्तरता दिन आदेश दिएको थियो। तर, पुनरावेदन अदालतले उक्त आदेशलाई उल्ट्याउँदै टीपीएस धारकहरूको कानूनी हैसियत र कार्य अनुमति ६० दिनभित्र समाप्त हुने गरी निर्णय सुनाएको छ।
सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पपछि अमेरिकाले नेपाली नागरिकहरूलाई अस्थायी रूपमा बसोबास र काम गर्ने अनुमति दिएको थियो। अमेरिकी गृह सुरक्षा विभागको २०२४ को तथ्याङ्कअनुसार, हाल करिब ७ हजार ५०० नेपाली टीपीएस धारकहरू अमेरिकामा बसोबास गरिरहेका छन्।
यो निर्णयले अब टीपीएसको आधारमा अमेरिकामा बसोबास गर्दै आएका करिब ७ हजार नेपाली नागरिकहरू स्वदेश फर्किनुपर्ने अवस्था सिर्जना भएको छ। यद्यपि, २०१५ मा टीपीएस कार्यक्रम सुरु हुँदा १५ हजार नेपालीले यस अन्तर्गत प्रवेश पाएका थिए, जसमध्ये धेरैले स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) लगायत अन्य कानुनी बाटो अपनाइसकेका छन्।
टीपीएस एक मानवीय कार्यक्रम हो, जसले प्राकृतिक प्रकोप वा असुरक्षित अवस्थाका कारण स्वदेश फर्कन नसक्ने देशका नागरिकहरूलाई अमेरिकामा अस्थायी रूपमा बस्न र काम गर्न अनुमति दिन्छ। पुनरावेदन अदालतको यो निर्णयले यस कार्यक्रमको भविष्यमा पनि प्रश्नचिह्न खडा गरेको छ।


