तरुण खबर
६ भाद्र २०८२, शुक्रबार ११:१४
काठमाडाैं, ६ भदाै । गत आर्थिक वर्ष २०८१-८२ मा नेपालका जलविद्युत कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेखनीय सुधार देखिएको छ। बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भौतिक संरचनामा क्षति पुगे पनि कम्पनीहरूको नाफा र बिजुली बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। हाल सञ्चालनमा रहेका ७५ भन्दा बढी कम्पनीहरूले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, उनीहरूको औसत नाफा रु २ अर्ब १९ करोड १२ लाख पुगेको छ। यो अघिल्लो वर्षको रु २ अर्ब ५३ करोड ५ लाखको घाटाभन्दा निकै सकारात्मक परिवर्तन हो।
गत वर्ष जलविद्युत कम्पनीहरूले बिजुली बेचेर रु ३८ अर्ब २३ करोड ७१ लाख आम्दानी गरेका छन्, जुन अघिल्लो वर्षको रु ३२ अर्ब ५६ करोड २३ लाखको तुलनामा १३.९३% ले बढी हो। यसरी बिक्री आम्दानी बढ्नु नै कम्पनीहरू घाटाबाट नाफामा आउनुको मुख्य कारण हो। यसमध्ये, ५८ कम्पनी नाफामा छन् भने ३१ वटा कम्पनी अझै नोक्सानीमै रहेका छन्।
सर्वाधिक नाफा कमाउने कम्पनीहरू
गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउने कम्पनीहरूको सूचीमा साहस उर्जा अग्रपंक्तिमा छ। कम्पनीको नाफा ११४.७५% ले बढेर रु ९० करोड २७ लाख पुगेको छ। त्यसपछि, चिलिमे हाइड्रोपावरले रु ६७ करोड ९५ लाख, माउन्टेन इनर्जीले रु ६२ करोड ९० लाख र अरुण भ्यालीले रु ४४ करोड ८१ लाख नाफा कमाएका छन्। यी बाहेक, अपि पावर, सानिमा मिडल तमोर, ग्रीन भेन्चर्स, राधी विद्युत, सानिमा माई, बुटवल पावर, अरुण काबेली, सिंगटी, युनिभर्सल, मिड सोलु, अपर सोलु र रिडी पावर लगायतका कम्पनीहरूले पनि १० करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएका छन्।
नोक्सानीमा रहेका कम्पनीहरू
वित्तीय अवस्थामा सुधार आए पनि ३१ वटा कम्पनीहरू अझै घाटामा छन्। सबैभन्दा ठूलो घाटा अपर तामाकोशीले बेहोरेको छ, जसको नोक्सानी रु २ अर्ब ५७ करोड २५ लाख पुगेको छ। यसैगरी, रसुवागढी हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, साञ्जेन जलविद्युत, पिपुल्स हाइड्रोपावर, मोदी इनर्जी, न्यादी हाइड्रोपावर, राप्ती हाइड्रो, दोर्दी खोला र पञ्चकन्या माई जस्ता कम्पनीहरू पनि नोक्सानीमा रहेका छन्। अन्य केही साना कम्पनीहरूले पनि घाटा बेहोरेका छन्, जसमध्ये खानीखोला, घलेम्दी, त्रिशुली जलविद्युत, जोशी हाइड्रोपावर, भुगोल इनर्जी लगायतका कम्पनीहरू पर्दछन्।


