तरुण खबर
६ भाद्र २०८२, शुक्रबार ११:४२
काठमाडाैं, ६ भदाै । ‘नाडा अटो सो, २०२५’ मा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले अटोमोबाइल क्षेत्रको दीर्घकालीन विकासका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले अटोमोबाइल क्षेत्र कर्जा प्रवाहका लागि सबैभन्दा सुरक्षित क्षेत्र भएकोमा जोड दिएका छन्।
नेपाल राष्ट्र बैंकको धारणा
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रको रूपमा नहेरेको स्पष्ट पारेका छन्। उनले बैंक तथा वित्तीय संस्थाहरू र हायर पर्चेज कम्पनीहरूबाट यस क्षेत्रमा रु २ खर्बभन्दा बढी कर्जा प्रवाह भइसकेको जानकारी दिए। पौडेलका अनुसार, नेपालमा व्यक्तिगत र व्यावसायिक गाडीका लागि फरक-फरक ‘लोन टु पर्चेज’ (LTP) रेसियो लागू गर्न सकिने र हायर पर्चेज कर्जालाई थप व्यवस्थित र प्रोत्साहन गरिने बताए।
बैंकरको अनुभव
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले अटोमोबाइल क्षेत्रमा प्रवाह भएको कर्जामा खराब कर्जा (NPL) को समस्या कम रहेको बताए। उनले अन्य क्षेत्रमा खराब कर्जा बढिरहेको भए पनि अटो क्षेत्र सुरक्षित देखिएको जानकारी दिए। यद्यपि, व्यावसायिक गाडीको तुलनामा निजी गाडीमा कर्जा प्रवाह गर्दा बैंकहरूले ग्राहकको सम्पत्तिलाई पनि धितो राख्ने गरेको बताए।
हायर पर्चेज कम्पनीको माग
भेन्चर हायर पर्चेजका सीईओ बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरूबाट अटोमोबाइलमा रु २६ अर्ब ५० करोड लगानी भइसकेको बताए। उनले सरकार र वित्तीय संस्थाहरूलाई हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह गरे। नेपालमा विद्युतीय गाडीको माग बढ्दै गएकाले त्यसका लागि कर्जाको माग पनि बढिरहेको उनले औंल्याए।
अटो व्यवसायीको सुझाव
नेपाल उद्योग वाणिज्य महासंघका उपसंयोजक तथा नाडाका पूर्व अध्यक्ष कृष्ण दुलालले अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको र यो व्यवसाय सुरक्षित रहेको बताए। उनले कर्मचारीहरूलाई बाइक वा गाडी किन्नका लागि २० वर्षसम्मको लामो अवधिको ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे। यस्तो व्यवस्थाले अधिकांश मानिसहरूलाई सवारी साधन किन्न सहज हुने र यसमा सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ।


