तरुण खबर
६ भाद्र २०८२, शुक्रबार १२:२८
काठमाडाैं, ६ भदाै । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नेपालको पूर्वसहमतिबिना भारत र चीनले व्यापारिक प्रयोजनका लागि लिपुलेक नाका सञ्चालन गर्ने सम्झौता गरेकोमा गम्भीर आपत्ति जनाएको छ। पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै यो कदम नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको गम्भीर उपेक्षा भएको बताएको छ।
विज्ञप्तिमा सन् २०१५ मा पनि यस्तै सहमति भएको र त्यसबेला नेपाल सरकारले कूटनीतिक असहमति जनाउँदै दुवै मुलुकलाई औपचारिक नोट पठाएको स्मरण गराइएको छ। त्यसबेला नेपालको स्पष्ट आपत्ति हुँदाहुँदै पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्याउनु छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्ब भएको नयाँ शक्तिले ठहर गरेको छ।
पार्टीले यस एकपक्षीय कदमलाई अस्वीकार गर्दै नेपाल सरकारको कूटनीतिक सक्रियता र दृढतामा देखिएको कमजोरीले राष्ट्रिय हितको संवेदनशील प्रश्नलाई थप जटिल बनाएको आरोप लगाएको छ।
नयाँ शक्तिले सीमा विवाद र कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले थप प्रभावकारी र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत-चीन-नेपालबीच समानता, आपसी सम्मान र विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नु जरुरी रहेको पनि उल्लेख गरिएको छ।



