तरुण खबर
६ भाद्र २०८२, शुक्रबार १२:३१
काठमाडाैं, ६ भदाै । सरकारले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै नेपाल शिक्षक महासङ्घले थप आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएअनुसार, भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यसपछि भदौ ११ देखि २० गतेसम्म सबै राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र सोही स्थानमा दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको छ।
यसैगरी, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइने र दुई घण्टा धर्ना दिइने महासङ्घले जनाएको छ।
अध्यक्ष सुवेदीले सरकारसँग भएको २७ बुँदे सहमति नै महासङ्घको ‘बटमलाइन’ रहेको र सरकारले ती मागहरू पूरा गर्न बेवास्ता गरेको आरोप लगाए। यदि मागहरू सम्बोधन नभए भदौ २१ गते दोस्रो चरणका थप कडा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने पनि उनले बताए।


