१७औं नाडा अटो शो भव्यताका साथ सम्पन्न, १ लाख ६० हजारभन्दा बढी दर्शकले गरे अवलोकन

१७औं नाडा अटो शो भव्यताका साथ सम्पन्न, १ लाख ६० हजारभन्दा बढी दर्शकले गरे अवलोकन तरुण खबर ९ भाद्र २०८२, सोमबार १०:५८
१७औं नाडा अटो शो भव्यताका साथ सम्पन्न, १ लाख ६० हजारभन्दा बढी दर्शकले गरे अवलोकन

काठमाडाैं, ९ भदाै । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी, १७औं नाडा अटो शो–२०२५, राजधानीको भृकुटीमण्डपमा भव्यताका साथ सम्पन्न भएको छ। गत मंगलबारदेखि सुरु भएको यो प्रदर्शनी आइतबार सकिएको हो। यस वर्षको अटो शोमा १ लाख ६० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएका छन्।

प्रदर्शनीका मुख्य आकर्षणहरू

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीका अनुसार, यस वर्षको अटो शो ऐतिहासिक रह्यो। विगतका प्रदर्शनीहरूमा परम्परागत सवारीसाधन मात्र देखाइने भए पनि यो पटक ‘उड्ने ट्याक्सी’ र ‘रोबोट प्रविधि’ जस्ता नवीनतम प्रविधिहरू पनि समावेश गरिएको थियो। उनले यसलाई ‘सबैभन्दा उन्नत, सबैभन्दा ठूलो, सबैभन्दा समावेशी र सबैभन्दा धेरै राजस्व आर्जन गर्ने प्रदर्शनी’ भएको दाबी गरे।

६ दिनसम्म चलेको यो प्रदर्शनीले नेपाली बजारमा विद्युतीय सवारीसाधन, अत्याधुनिक प्रविधि र नवीनतम अटो समाधानहरूप्रति आम जनताको बढ्दो चासो र सम्भावनालाई प्रस्ट पारेको छ।