तरुण खबर
९ भाद्र २०८२, सोमबार ११:०२
काठमाडाैं, ९ भदाै । नेपालमा म्युचुअल फन्डको प्रतिफल राम्रो छैन भन्ने परम्परागत धारणा अब परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझीले म्युचुअल फन्डको प्रदर्शनमा सुधार आएको र यो लगानीको एक आकर्षक माध्यम बनेको बताएका छन्। उनले हालै अर्थपथसँगको कुराकानीमा म्युचुअल फन्डको बजार, यसको सम्भावना र कम्पनीले ल्याउन लागेको नयाँ स्किमको बारेमा विस्तृत जानकारी दिए।
एनआईसी एसिया क्यापिटलले बजारमा ल्याउन लागेको ‘इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्किम (इलिस)’ सातौं म्युचुअल फन्ड हो, जुन एक खुलामुखी (open-ended) योजना हो। यस योजनाको मुख्य विशेषता भनेको लगानीकर्ताले जुनसुकै बेला एकाइ खरिद वा फिर्ता गर्न सक्नेछन्। यो फन्डमा लगानीको ठूलो हिस्सा सेयर बजारमा सूचीकृत कम्पनीहरूमा केन्द्रित हुनेछ, जसले उच्च प्रतिफलको सम्भावना दिनेछ।
साना लगानीकर्ताका लागि विशेष सुविधा
यो फन्ड साना लगानीकर्तालाई आकर्षित गर्न निकै महत्त्वपूर्ण मानिएको छ। रायमाझीका अनुसार, यो योजनामा नेपालमै पहिलो पटक मिनी एसआईपी (Mini SIP) को अवधारणा ल्याइएको छ, जसमा ५०० रुपैयाँबाट पनि लगानी गर्न सकिनेछ। यसले विद्यार्थी, स्वरोजगार व्यक्ति तथा थोरै आम्दानी भएका व्यक्तिलाई पनि वित्तीय बजारमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
साथै, यस योजनामा रि-इन्भेस्टमेन्टको सुविधा पनि दिइएको छ, जसले लाभांशको रकम स्वतः फन्डमै पुनः लगानी हुन्छ र चक्रीय प्रभाव (कम्पाउन्डिङ) सिर्जना गर्छ। यस्तो व्यवस्थाले दीर्घकालीन लगानीकर्तालाई थप लाभ दिनेछ। यसका अतिरिक्त, सिस्टम्याटिक ट्रान्सफर प्लान (एसटीपी) र सिस्टम्याटिक विथड्र प्लान (एसडब्लुपी) जस्ता सुविधाहरूले लगानीकर्तालाई बजारको उतारचढाव अनुसार निर्णय बदल्न मद्दत गर्नेछ।
हालको बजार र नयाँ फन्डको लक्ष्य
रायमाझीका अनुसार, हालको बजारमा म्युचुअल फन्डप्रति लगानीकर्ताको विश्वास बढेको छ। हालै परिपक्व भएको एक फन्डले औसत १४.३३% को वार्षिक प्रतिफल दिएको उदाहरण दिँदै उनले यो नेप्सेको वार्षिक वृद्धि दरभन्दा राम्रो रहेको दाबी गरे। नयाँ फन्डको आकार सुरुमा ५० करोड रुपैयाँको रहनेछ, जसलाई बजारको आवश्यकताअनुसार १ अर्ब रुपैयाँसम्म विस्तार गर्न सकिनेछ। यसमध्ये १५ करोड रुपैयाँ प्रवर्द्धक लगानीको रूपमा एनआईसी एसिया बैंकले सुनिश्चित गरेको छ।
अहिले बैंक ब्याजदर घटिरहेको बेला इक्विटी मार्केटमा लगानी गर्नु उपयुक्त हुने उनको भनाइ छ। यस्तो अवस्थामा मुद्दती निक्षेपबाट कम प्रतिफल आउने भएकाले म्युचुअल फन्ड एक सुरक्षित, लचिलो र लाभदायक विकल्प हुने उनले बताए।
नियामक निकायका लागि सुझाव
म्युचुअल फन्डको थप विकासका लागि रायमाझीले नियामक निकायहरूलाई केही सुझाव पनि दिएका छन्। उनले अनलिस्टेड कम्पनीहरूमा लगानी गर्न पाउने, विदेशी बजारमा लगानी गर्ने ढोका खोल्ने र म्युचुअल फन्डमा कर छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए। उनले यी सुधारहरू लागू भएमा नेपाली पुँजी बजारको ‘नेक्स्ट मुभमेन्ट’ म्युचुअल फन्डमार्फत नै हुने विश्वास व्यक्त गरे।


