तरुण खबर
९ भाद्र २०८२, सोमबार ११:०९
काठमाडाैं, ९ भदाै । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गरेको छ। यसअघि गत वैशाखमा सरकारसँग भएको ९ बुँदे सहमति विधेयकमा समावेश नभएको महासङ्घको आरोप छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार, विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको छ। उहाँले भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा विगतका सहमतिहरू कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा जान बाध्य भएको बताउनुभयो।
महासङ्घले आफ्ना मागहरू पूरा गराउनका लागि विभिन्न चरणका विरोध कार्यक्रमहरू घोषणा गरेको छ। उनीहरूका प्रमुख मागहरूमा विगतका सहमतिहरूको कार्यान्वयन, अस्थायी शिक्षकको पदपूर्ति (७५% आन्तरिक र २५% खुला), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको सेवा-सुविधाको सुनिश्चितता, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई उपदानको व्यवस्था, र शिक्षक दरबन्दीलाई स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णयको विरोध रहेका छन्।
अध्यक्ष सुवेदीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आन्दोलनको पहिलो चरणअन्तर्गत सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र बुझाउने बताउनुभयो। त्यसपछि, भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टा धर्ना दिने कार्यक्रम रहेको छ। यदि मागहरू पूरा नभए भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन सुरु गर्ने, जसमा धर्ना, अवरोध र विरोध प्रदर्शनहरू समावेश हुने महासङ्घले जनाएको छ। सुवेदीले शिक्षकहरूको यो आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानको लडाइँ भएकोले माग पूरा नभएसम्म सडकबाट नफर्किने अडान लिनुभएको छ।


