तरुण खबर
९ भाद्र २०८२, सोमबार ११:२७
काठमाडाैं, ९ भदाै । वीरगञ्जमा हैजाको प्रकोप बढ्दै जाँदा अवस्था नियन्त्रणभन्दा बाहिर जाने जोखिम बढेको छ। यहाँ अहिलेसम्म २५४ जनामा हैजाको लक्षण देखिएकोमा ७१ जनामा संक्रमण पुष्टि भइसकेको छ। बाँकी नमुनाहरूको रिपोर्ट आउन बाँकी छ।
अस्पतालहरूमा बिरामीको चाप र व्यवस्थापन
वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहका अनुसार, अहिलेसम्म १२४ जना बिरामी उपचारपछि डिस्चार्ज भइसकेका छन्। तर, बिरामीको संख्या निरन्तर बढिरहेकाले नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज र वीरगञ्ज हेल्थ केयरजस्ता अस्पतालहरूमा सामान्यभन्दा बढी बिरामी भर्ना भएका छन्। हैजाको फैलावटलाई नियन्त्रण गर्न अस्पतालहरूले सबै चिकित्सक तथा कर्मचारीहरूलाई बिदामा नबस्न र बिदामा रहेकालाई तुरुन्त उपस्थित हुन निर्देशन दिएका छन्।
नियन्त्रणका लागि सरकारी पहल
हैजाको फैलावट रोक्न स्थानीय तहदेखि केन्द्र सरकारसम्म सक्रिय समन्वय भइरहेको छ। महानगरपालिकाले जनचेतना फैलाउन स्वास्थ्यकर्मीसहितको १३० जनाको टोली गाउँ-टोलमा परिचालन गरेको छ। यो टोलीले सरसफाइ, खाद्य निरीक्षण र पानीको स्वच्छता परीक्षणको काम गरिरहेको छ।
प्रकोपलाई थप फैलन नदिन महानगरपालिकाले सोमबार र मंगलबारका लागि वीरगञ्जका सबै विद्यालय तथा कलेजहरू बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले पठाएको स्वास्थ्यकर्मी टोलीले प्रभावित क्षेत्रको अनुगमन सुरु गरेको छ। प्रभावित क्षेत्रबाट संकलन गरिएको पानीका नमुनाहरू परीक्षणका लागि काठमाडौं पठाइएका छन्, जसको रिपोर्ट आउन बाँकी छ।


