तरुण खबर
९ भाद्र २०८२, सोमबार ११:३२
काठमाडाैं, ९ भदाै । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्। आज खुमलटारस्थित आफ्नो निजी निवासमा आयोजित कार्यक्रममा प्रचण्डले नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पाको नेतृत्वमा रहेको प्यानललाई बधाई तथा शुभकामना दिएका हुन्।
शेर्पाको नेतृत्वमा रहेको प्यानलले हालै सम्पन्न चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धनलाई पराजित गर्दै विजय हासिल गरेको थियो। माओवादी केन्द्र र यसका सहयोगीहरूले शेर्पा प्यानललाई समर्थन गरेका थिए।
बधाई दिँदै प्रचण्डले नेपालको पर्वतीय पर्यटन विकासमा संघले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे। उनले भने, “नेपालको पर्वतीय पर्यटनलाई थप विकसित गरिनुपर्छ। म मेरो पार्टी र व्यक्तिगत तर्फबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई हार्दिक बधाई दिन चाहन्छु।”
उनले एनएमएलाई अझ बलियो र प्रभावकारी संस्था बनाउनका लागि आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरे।


