नेपाली सेयर बजारमा ऐतिहासिक उछाल: नेप्से र पुँजीकरण दुवैले बनाए नयाँ कीर्तिमान

नेपाली सेयर बजारमा ऐतिहासिक उछाल: नेप्से र पुँजीकरण दुवैले बनाए नयाँ कीर्तिमान तरुण खबर १० भाद्र २०८२, मंगलवार १२:००
नेपाली सेयर बजारमा ऐतिहासिक उछाल: नेप्से र पुँजीकरण दुवैले बनाए नयाँ कीर्तिमान

काठमाडाैं, १० भदाै । गत आर्थिक वर्ष २०८१-८२ मा नेपाली सेयर बजारले उल्लेख्य प्रगति हासिल गरेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार, नेप्से सूचकाङ्कदेखि बजार पुँजीकरणसम्मका प्रमुख सूचकहरूमा उत्साहजनक वृद्धि देखिएको छ ।

नेप्से र पुँजीकरणमा फड्को

गत आवको असार मसान्तसम्म नेप्से सूचकाङ्क २७९४.७९ विन्दुमा पुगेको छ, जुन अघिल्लो वर्षको २२४०.४१ विन्दुभन्दा ५५४ विन्दुले बढी हो । यसैगरी, धितोपत्र बजार पुँजीकरण पनि अघिल्लो वर्षको रु. ३५ खर्ब ५३ अर्ब ६८ करोडबाट बढेर रु. ४६ खर्ब ५६ अर्ब ९९ करोड पुगेको छ । यो वृद्धिले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा बजार पुँजीकरणको हिस्सा १४ प्रतिशतले बढेर ७६.२५ प्रतिशत पुगेको छ ।

बैंकिङ र जलविद्युतको दबदबा

धितोपत्र बजारमा बैंकिङ तथा वित्तीय क्षेत्रको वर्चस्व कायम छ । कुल २७२ सूचीकृत कम्पनीमध्ये १३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका छन्, जसले बजारको ५४.१ प्रतिशत हिस्सा ओगटेका छन् । गत वर्ष यस क्षेत्रको रु. ४ खर्ब ८७ अर्ब ७८ करोडभन्दा बढीको सेयर किनबेच भएको थियो ।

जलविद्युत क्षेत्र पनि लगानीकर्ताको रोजाइमा परेको छ । नेप्सेमा ९१ वटा जलविद्युत कम्पनी सूचीकृत छन् र यसको योगदान १५.३ प्रतिशत छ । कारोबार रकमको आधारमा यो क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ । गत वर्ष यस क्षेत्रको रु. ८ खर्ब २२ अर्ब ९९ करोड बराबरको सेयर कारोबार भएको थियो ।

अन्य क्षेत्रको अवस्था

बाँकी रहेका क्षेत्रहरूमध्ये लगानी समूहका ७ कम्पनीको योगदान ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहका २३ कम्पनीको योगदान ५.४ प्रतिशत, व्यापार समूहका ४ कम्पनीको ५ प्रतिशत र होटल समूहका ७ कम्पनीको योगदान २.७ प्रतिशत छ । गत वर्ष उत्पादन तथा प्रशोधन क्षेत्रमा रु. १ खर्ब ६३ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । यीबाहेक अन्य समूहको योगदान ९.८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

समग्रमा, गत आर्थिक वर्ष नेपाली सेयर बजारका लागि ऐतिहासिक र सकारात्मक वर्ष रह्यो । नेप्से र पुँजीकरणको वृद्धिले लगानीकर्तामा उत्साह थपेको छ भने यसले समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।