तरुण खबर
१० भाद्र २०८२, मंगलवार १२:१३
काठमाडाैं, १० भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वलाई भावनात्मक एकता, माया, करुणा र सिर्जनात्मकताको प्रतीकका रूपमा लिँदै यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
आज तीज पर्व २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । उनले यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
राष्ट्रपतिले तीजले परिवार तथा समाजमा भाइचारा, सदाचार, आपसी एकता, मेलमिलाप र समर्पणको भावनालाई थप मजबुत बनाएको बताए । साथै, महिलामाथि हुन सक्ने सबै प्रकारका भेदभाव, हिंसा र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणका लागि तीज पर्वले सबैमा नयाँ जोस, जाँगर र उत्साह प्रदान गर्ने अपेक्षा पनि उनले व्यक्त गरे ।


