नारायणी अस्पतालमा हैजा र झाडापखालाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

नारायणी अस्पतालमा हैजा र झाडापखालाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्रीको निर्देशन तरुण खबर १० भाद्र २०८२, मंगलवार १२:२८
नारायणी अस्पतालमा हैजा र झाडापखालाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडाैं, १० भदाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगन्जस्थित नारायणी अस्पतालमा झाडापखाला र हैजाका बिरामीलाई निःशुल्क उपचार र औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरगन्ज र आसपासका क्षेत्रमा फैलिएको झाडापखाला र हैजाको प्रकोपको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री पौडेलले अस्पताल प्रशासनलाई संक्रमितहरूका लागि निःशुल्क उपचार सेवा सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।

“म नारायणी अस्पताललाई झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई कुनै पनि शुल्क नलिई सबै प्रकारका औषधि उपलब्ध गराउन आग्रह गर्दछु,” उनले भने । मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसारका औषधि पर्याप्त नभए पनि आवश्यकता अनुसार अतिरिक्त औषधि पनि निःशुल्क उपलब्ध गराउन अस्पताल प्रशासनलाई आग्रह गरे ।

सो अवसरमा उनले अस्पतालको स्वास्थ्य सेवा र बिरामीका गुनासाहरूबारे पनि जानकारी लिए । “बिरामीहरूले केही औषधि आफैं किन्नुपर्ने गुनासो गर्नुभयो,” मन्त्री पौडेलले भने । उनले अस्पताल प्रशासनलाई झाडापखाला र हैजाको परीक्षण गर्दा कुनै पनि शुल्क नलिन पनि निर्देशन दिएका छन् ।

उनले तीनवटै तहका सरकारको समन्वयमा कुनै पनि हालतमा औषधिको अभाव हुन नदिने बताए । साथै, झाडापखाला र हैजाको थप प्रकोप फैलिन नदिन औषधिसहित स्वास्थ्यकर्मीको पनि कमी हुन नदिने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दासका अनुसार, हाल अस्पतालमा पानीजन्य संक्रामक रोगका ४८ जना बिरामी उपचाररत छन् ।