तरुण खबर
१० भाद्र २०८२, मंगलवार १२:५७
काठमाडाैं, १० भदाै । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार, दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।
गत साउन २८ गते तत्कालीन सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा ‘छेडखानी’ भएको भन्दै नैतिक आधारमा राजीनामा दिएपछि उक्त पद खाली भएको थियो । संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन हुन लागेको हो ।
सचिवालयका सचिव हर्कराज राईका अनुसार, समिति सदस्यमध्ये एकजनाले अर्को एक सदस्यको समर्थनमा सभापति पदका लागि उम्मेदवारी दिन सक्नेछन् । मनोनयन दर्ता सकिएलगत्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ । निर्वाचन भने बुधबार दिउँसो ३ बजे समितिको बैठकमा हुनेछ ।
दलहरूबीचको भागबन्डामा राज्य व्यवस्था समितिको सभापति पद नेपाली कांग्रेसको भागमा परेको छ । तर, कांग्रेसले अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवार तय गर्न कांग्रेसले मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



