डेढ खर्बमाथि पुग्यो सेयर धितो कर्जा, लगानीकर्तामा बढ्यो जोश

डेढ खर्बमाथि पुग्यो सेयर धितो कर्जा, लगानीकर्तामा बढ्यो जोश तरुण खबर १२ भाद्र २०८२, बिहीबार १३:०३
डेढ खर्बमाथि पुग्यो सेयर धितो कर्जा, लगानीकर्तामा बढ्यो जोश

काठमाडाैं, १२ भदाैं । नेपाल राष्ट्र बैंकको लचिलो नीतिका कारण नेपालको पुँजी बजारमा लगानीकर्ताको सक्रियता र आत्मविश्वास बढेको छ। यसको प्रत्यक्ष प्रमाणका रूपमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने सेयर धितो कर्जा (मार्जिन लोन) मा भएको तीव्र वृद्धिले पुष्टि गर्छ।

गत आर्थिक वर्ष २०८१–८२ मा बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ५६.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो कर्जाको कुल प्रवाह ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ मात्र थियो।

ठूला लगानीकर्ताको सक्रियता बढ्यो

राष्ट्र बैंकको तथ्याङ्कअनुसार, विशेषगरी ठूला लगानीकर्ताहरू बजारमा पुनः सक्रिय भएका छन्। १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा ७६.८७ प्रतिशतले बढेर ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यसले ठूला लगानीकर्ताको मनोबल उकासिएको देखाउँछ।

यसैगरी, ५० लाखदेखि १ करोडसम्मको कर्जा २८.९८ प्रतिशत, २५ लाखदेखि ५० लाखसम्मको कर्जा २१.७९ प्रतिशत र २५ लाखसम्मको कर्जा ११.८४ प्रतिशतले वृद्धि भएको छ।

वाणिज्य बैंकको भूमिका अग्रणी

कुल सेयर धितो कर्जामध्ये वाणिज्य बैंकहरूले मात्रै १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६०.०६ प्रतिशतले बढी हो। धेरैजसो बैंकले यस्तो कर्जा बढाए पनि एनआईसी एशिया बैंक को कर्जा भने घटेको छ।

नबिल, ग्लोबल र कुमारी बैंक अग्रपंक्तिमा

गत वर्ष सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने बैंकहरूमा नबिल बैंक शीर्ष स्थानमा छ। बैंकले एक वर्षमा १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

दोस्रोमा ग्लोबल आईएमई बैंक ले १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ र तेस्रोमा कुमारी बैंक ले १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। कुमारी बैंकको कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा १३८.४० प्रतिशतले बढेको छ, जुन उल्लेखनीय वृद्धि हो।

यसबाहेक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले पनि उल्लेख्य मात्रामा सेयर धितो कर्जा प्रवाह गरेका छन्।