अबको केही दिनमै आईफोन १७ सार्वजनिक, मूल्यमा ७ हजार बढ्न सक्ने

अबको केही दिनमै आईफोन १७ सार्वजनिक, मूल्यमा ७ हजार बढ्न सक्ने तरुण खबर १२ भाद्र २०८२, बिहीबार १३:१३
अबको केही दिनमै आईफोन १७ सार्वजनिक, मूल्यमा ७ हजार बढ्न सक्ने

काठमाडाैं, १२ भदाैं । एप्पलले आगामी सेप्टेम्बरमा आफ्नो बहुप्रतिक्षित आईफोन १७ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ। एप्पलले सेप्टेम्बर ९ मा विशेष कार्यक्रमको आयोजना गर्ने घोषणा गरेसँगै उक्त कार्यक्रममा नयाँ आईफोन १७ र एप्पल वाचका नयाँ संस्करणहरू सार्वजनिक हुने अनुमान गरिएको छ। एप्पलले सन् २०१२ देखि हरेक सेप्टेम्बरमा नयाँ आईफोन सार्वजनिक गर्दै आएको छ।

आईफोन १७ को विशेषता र सम्भावित मूल्य:

  • चिपसेट: नयाँ आईफोन १७ सिरिजका मोडलहरूमा ए१९ चिप र प्रो भर्सनमा ए१९ प्रो चिपसेट रहने अनुमान गरिएको छ।
  • डिजाइन: एप्पलले आईफोन १७ लाई अझै पातलो र आकर्षक बनाउने अपेक्षा गरिएको छ, जसलाई धेरैले म्याकबुक एयर जस्तै स्लिम आईफोन भनिरहेका छन्।
  • डिस्प्ले: आईफोन १७ र प्रोमा ६.३ इन्च, आईफोन १७ एयरमा ६.५ इन्च र आईफोन १७ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले रहने बताइएको छ।
  • मूल्य: आईफोन १७ का सबै मोडलको मूल्य आईफोन १६ सिरिजको तुलनामा ५० अमेरिकी डलर (करिब ७ हजार रुपैयाँ) महँगो हुने अनुमान गरिएको छ। यो मूल्य वृद्धिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्च कर नीति र उत्पादन लागतमा भएको वृद्धिले प्रभाव पारेको छ।

उत्पादन रणनीतिमा परिवर्तन:

चीनबाट आयात हुने सामग्रीमा अमेरिकाले भारी कर लगाएपछि एप्पलले आफ्नो उत्पादन केन्द्र भारततर्फ सार्दै छ। भारतमा श्रम लागत कम भए पनि नयाँ आपूर्ति श्रृंखलाको निर्माण, स्थानान्तरण लागत र प्रविधि स्थापनाजस्ता कारणले उत्पादन लागत बढेको हो। यसले गर्दा आईफोन १७ को मूल्यमा वृद्धि हुन सक्ने देखिएको छ।

बजार विश्लेषकहरूका अनुसार आईफोन मिनीको असफलता र आईफोन १६ प्लसको न्यून बिक्रीले गर्दा एप्पल आफ्ना नयाँ उत्पादनमार्फत प्रयोगकर्ताको ध्यान तान्न थप सतर्क रहनेछ। कम्पनीले नयाँ प्रोसेसर, उन्नत क्यामेरा र लामो ब्याट्री लाइफजस्ता विशेषताहरूमा सुधार गरेर प्रयोगकर्तालाई आकर्षित गर्ने प्रयास गर्नेछ।

एप्पलले भविष्यमा मूल्य नियन्त्रण गर्नका लागि अमेरिकाभित्रै चिप्स उत्पादन गर्न ६०० अर्ब डलर लगानी गर्ने घोषणा पनि गरिसकेको छ। यसले दीर्घकालमा एप्पलको उत्पादन रणनीतिमा ठूलो परिवर्तन ल्याउने संकेत गरेको छ।