तरुण खबर
१३ भाद्र २०८२, शुक्रबार १२:३५
काठमाडौं, १३ भदौ । नेपालका वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा उल्लेख्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, वाणिज्य बैंकहरूले एक वर्षको अवधिमा ७ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी निक्षेप थप गरी कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड रुपैयाँ पुर्याएका छन्। यो अघिल्लो वर्षको तुलनामा १३.७३ प्रतिशतको वृद्धि हो।
निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ। बैंकले १२.९६ प्रतिशतले निक्षेप बढाएर ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ। यसपछि नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी छ। निक्षेप बढाउनेमा एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ, जसको निक्षेप २८.६३ प्रतिशतले बढेको छ। यद्यपि, एनआईसी एशिया बैंकको निक्षेप भने ९.८९ प्रतिशतले घटेको छ।
बैंकहरूको कर्जा प्रवाह पनि ८.०९ प्रतिशतले बढेर ४८ खर्ब ५५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाहमा पनि ग्लोबल आइएमई बैंक र नबिल बैंक नै शीर्ष सूचीमा छन्, जसको कर्जा लगानी ४ खर्ब रुपैयाँभन्दा बढी छ। कर्जा प्रवाह बढाउनेमा एभरेष्ट बैंक पहिलो स्थानमा छ, जसको कर्जा २०.१९ प्रतिशतले बढेको छ। तर, एनआईसी एशिया, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी भने घटेको छ।


