बक्यौता रकम नपाएपछि दुग्ध किसान सडकमा, उखु किसान पनि आन्दोलित

बक्यौता रकम नपाएपछि दुग्ध किसान सडकमा, उखु किसान पनि आन्दोलित तरुण खबर १५ भाद्र २०८२, आईतवार १२:१५
बक्यौता रकम नपाएपछि दुग्ध किसान सडकमा, उखु किसान पनि आन्दोलित

काठमाडाैं, १५ भदाै । लामो समयदेखि दूधको बक्यौता रकम भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरू आन्दोलनमा उत्रिएका छन्। दुग्ध विकास संस्थान (डीडीसी) ले रकम उपलब्ध नगराएपछि उनीहरूले आज काठमाडौंको लैनचौरस्थित संस्थानको कार्यालयमा धर्ना दिने कार्यक्रम राखेका छन्।

किसानहरूका अनुसार, दूध बिक्री गरेको लामो समय बित्दा पनि भुक्तानी नपाउँदा उनीहरूलाई परिवारको पालनपोषण, छोराछोरीको शिक्षा र पशुपालनमा समेत आर्थिक समस्या परेको छ। यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।

उखु किसान पनि आन्दोलित

यसैबीच, सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम घटाएपछि उखु किसानहरूले पनि आन्दोलनलाई थप चर्काउने घोषणा गरेका छन्। बजेट अभाव देखाउँदै सरकारले प्रतिक्विन्टल ७० रुपैयाँबाट अनुदान रकम घटाएर ३५ रुपैयाँमा झारेको छ। यसको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका उखु किसानहरूले अब राजमार्ग केन्द्रित आन्दोलन गर्ने बताएका छन्।