तरुण खबर
१५ भाद्र २०८२, आईतवार १२:१९
काठमाडाैं, १५ भदाै । नेपालमा पहिलो पटक स्टेम सेल अनुसन्धान केन्द्र स्थापना भएको छ। काठमाडौंमा सुरु भएको यो केन्द्रलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ।
उज्ज्वल भण्डारी, डा. रघुराम भण्डारी र अमोद शर्माको नेतृत्वमा स्थापित यस केन्द्रमा अत्याधुनिक प्रयोगशालाको सुविधा रहेको छ। यो केन्द्रले क्यान्सर, रक्तसम्बन्धी समस्या र रोग प्रतिरोधात्मक प्रणालीसम्बन्धी रोगको उपचारका लागि अनुसन्धान गर्ने लक्ष्य लिएको छ।
केन्द्रले उत्पादन गर्ने स्टेम सेलहरू अस्पताल र चिकित्सकहरूलाई उपलब्ध गराइनेछ। यद्यपि, नेपालमा स्टेम सेल थेरापीसम्बन्धी कानुनी संरचना भने अझै विकासको चरणमा रहेको छ।
स्वास्थ्य विज्ञहरूले यो केन्द्रलाई बिरामीहरूका लागि एक आशाको किरणको रूपमा हेरेका छन्। यस केन्द्रले भविष्यमा नेपाललाई दक्षिण एसियामा स्टेम सेल अनुसन्धान तथा उपचारको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। स्टेम सेलको प्रयोगबाट क्षतिग्रस्त अंगहरूको उपचार गर्न, रोगको कारण पत्ता लगाउन र नयाँ औषधि विकास गर्न सकिने हुँदा यसलाई स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ।


