डोनाल्ड ट्रम्पले शान्ति पुरस्कारका लागि मोदीसँग सहयोग मागेको न्यूयोर्क टाइम्सको रिपोर्ट

डोनाल्ड ट्रम्पले शान्ति पुरस्कारका लागि मोदीसँग सहयोग मागेको न्यूयोर्क टाइम्सको रिपोर्ट तरुण खबर १५ भाद्र २०८२, आईतवार १२:२९
डोनाल्ड ट्रम्पले शान्ति पुरस्कारका लागि मोदीसँग सहयोग मागेको न्यूयोर्क टाइम्सको रिपोर्ट

काठमाडाैं, १५ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवादमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि सहयोग गर्न आग्रह गरेको न्यूयोर्क टाइम्सको एक रिपोर्टले खुलासा गरेको छ। यो आग्रह भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य गरेको आधारमा गरिएको थियो, जसलाई प्रधानमन्त्री मोदीले अस्वीकार गरेका थिए।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार, ट्रम्पको नोबेल पुरस्कारको अभियानमा मोदीको असहयोगले दुई देशबीचको सम्बन्धमा खटपट आएको छ। मोदीले ट्रम्पलाई युद्धविराम भारत र पाकिस्तानबीचको प्रत्यक्ष कुराकानीबाट भएको र यसमा अमेरिकाको कुनै भूमिका नरहेको स्पष्ट पारेका थिए। ट्रम्पले भने आफूले सैनिक तनाव अन्त्य गरेकोमा गर्व महसुस गरेको र पाकिस्तानले पनि नोबेल पुरस्कारका लागि आफ्नो नाम सिफारिस गर्न लागेको बताएका थिए।

यस घटनाको केही हप्तापछि अमेरिकाले भारतमाथि २५ प्रतिशतको ‘रेसिप्रोकल ट्यारिफ’ (reciprocal tariffs) र रुसबाट सहुलियतमा तेल खरिद गरेकोमा थप २५ प्रतिशत गरी कुल ५० प्रतिशत शुल्क लगाएको थियो।

रिपोर्टका अनुसार, जुन १७ को ३५ मिनेट लामो फोन कलपछि दुई नेताबीच कुनै संवाद भएको छैन। यसै कारणले ट्रम्पले यस वर्षको अन्तमा भारतमा हुने क्वार्ड शिखर सम्मेलनमा सहभागी नहुने सम्भावना पनि रहेको छ।

उक्त फोन संवादमा मोदीले जी७ सम्मेलनपछि वासिङ्टन भ्रमणका लागि ट्रम्पले दिएको निम्तो पनि अस्वीकार गरेका थिए। भारतीय अधिकारीहरूका अनुसार, यो अस्वीकार ट्रम्पले पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग मोदीको हात मिलाउने फोटो खिचाउन खोज्नसक्ने चिन्ताले गरिएको थियो। एक भारतीय अधिकारीले ट्रम्पलाई भारत-पाकिस्तान सम्बन्धको जटिलताबारे कम चासो भएको बताएका छन्।

ट्रम्पले व्यापार सम्झौताका लागि धेरै पटक मोदीसँग संवाद गर्न चाहेको भए पनि भारतीय अधिकारीहरू ट्रम्पले ट्रुथ सोसियलमा मन लागेको कुरा लेखिदिने डरले मोदीलाई फोनमा कुरा गराउन हिचकिचाएको रिपोर्टमा उल्लेख छ। यद्यपि, ह्वाइट हाउसका प्रवक्ताले भने ट्रम्पले मोदीसँग सम्पर्क गर्न नचाहेको दाबी गरेका छन्।