तरुण खबर
१५ भाद्र २०८२, आईतवार १२:४७
काठमाडाैं, १५ भदाै । सात वर्षको अन्तरालपछि चीनको औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। दुई नेताबीच करिब ५० मिनेट लामो कुराकानी भएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार, भेटका क्रममा मोदीले पछिल्लो समय सीमामा सेना फिर्ता भएपछि दुई देशबीच शान्ति र स्थिरताको वातावरण बनेको बताए। उनले कैलाश मानसरोवरको यात्रा र दुई देशबीचको सिधा हवाई उडान पुनः सुरु भएकोमा पनि खुशी व्यक्त गरे। मोदीले भारत र चीनबीचको सहकार्यले २.८ अर्ब जनतालाई फाइदा पुग्ने र यसले सम्पूर्ण मानवजातिको कल्याणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
जवाफमा राष्ट्रपति सीले मोदीलाई भेट्न पाउँदा खुशी लागेको र भारत तथा चीन एकसाथ आउनु महत्त्वपूर्ण भएको बताए। दुई नेताले पारस्परिक विश्वास र सम्मानका आधारमा सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
सन् २०२० मा गलवान उपत्यकामा भएको झडपपछि भारत-चीन सम्बन्ध बिग्रिएको थियो। मोदीको यस भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सीमा विवाद कम गर्नु रहेको मानिएको छ।
जापानको दुई दिने भ्रमणपछि मोदी शनिबार साँझ चीन पुगेका थिए। उनी आज चीनको तियानजिन सहरमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुँदैछन्। यस पटक इतिहासकै सबैभन्दा ठूलो मानिएको यस शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूको सहभागिता रहेको छ। प्रधानमन्त्री मोदीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।


