तरुण खबर
१६ भाद्र २०८२, सोमबार ११:५७
काठमाडाैं, १६ भदाै । नेपाल आयल निगमले सोमबार (भदौ १६) बिहान १ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु ४ घटाएको छ। यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ प्रतिलिटर ७ अमेरिकी डलरले मूल्य घटेको छ।
निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ। नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका लागि प्रतिलिटर रु १४२.५०, दोस्रो वर्गका लागि रु १४४ र तेस्रो वर्गका लागि रु १४५ कायम भएको छ।
यसैगरी, हवाई इन्धनको नयाँ मूल्य आन्तरिक उडानका लागि प्रतिलिटर रु १२७ तोकिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि भने काठमाडौंमा प्रतिलिटर ९६६, पोखरामा ७७२ र भैरहवामा ७५९ अमेरिकी डलर तोकिएको छ।


