तरुण खबर
१६ भाद्र २०८२, सोमबार १२:०६
काठमाडाैं, १६ भदाै । लक्ष्मी समूहको सहायक कम्पनी लक्ष्मी इलेक्ट्रोटेक प्रालिले व्हिर्लपुल पार्टनर्स मिट २०२५ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित यस कार्यक्रममा नेपालभरका २०० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र व्हिर्लपुल लिमिटेड (भारत) का निर्देशक हिमांशु जैनले संयुक्त रूपमा गरे। सो अवसरमा व्हिर्लपुलले आफ्नो नवीनतम प्रविधियुक्त सिंगल डोर र डबल डोर फ्रिज, साथै अत्याधुनिक वासिङ मेसिनहरू प्रस्तुत गरेको थियो।
लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठले कार्यक्रममा उपस्थित सबै डिलरहरूलाई धन्यवाद दिँदै उनीहरूलाई आफ्नो व्यापारको मेरुदण्डको रूपमा प्रशंसा गरे। उनले व्हिर्लपुलको प्रविधि र बलियो वितरण नेटवर्कको माध्यमबाट नेपाली घरपरिवारमा विश्वस्तरीय उपकरणहरू पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी, व्हिर्लपुलका निर्देशक हिमांशु जैनले लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत नेपाली परिवारका लागि विश्वव्यापी प्रविधिहरू प्रस्तुत गर्न उत्साहित रहेको बताए।
लक्ष्मी इलेक्ट्रोटेक नेपालमा अन्तर्राष्ट्रिय घरेलु उपकरणहरूको प्रमुख वितरक हो, भने व्हिर्लपुल विश्वव्यापी होम एप्लायन्स उद्योगमा एक अग्रणी कम्पनी हो।
कार्यक्रमको अन्त्यमा उत्कृष्ट डिलरहरूलाई पुरस्कार प्रदान गरिनुका साथै व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउन नेटवर्किङ डिनरको आयोजना गरिएको थियो। यस कार्यक्रमले देशभरिका ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्ने नयाँ प्रतिबद्धतालाई जोड दिएको छ।


