‘रुससँगको सम्बन्ध मोदीको युद्ध हो’: ट्रम्पका सल्लाहकारको भारतबारे विवादास्पद टिप्पणी

‘रुससँगको सम्बन्ध मोदीको युद्ध हो’: ट्रम्पका सल्लाहकारको भारतबारे विवादास्पद टिप्पणी तरुण खबर १६ भाद्र २०८२, सोमबार १२:१९
‘रुससँगको सम्बन्ध मोदीको युद्ध हो’: ट्रम्पका सल्लाहकारको भारतबारे विवादास्पद टिप्पणी

काठमाडाैं, १६ भदाै । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारोले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एक विवादास्पद बयान दिएका छन्। उनले फक्स न्यूजसँगको कुराकानीमा प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै पनि उनको रुस र चीनसँगको सम्बन्धबारे प्रश्न उठाएका हुन्।

नाभारोले भने, “मोदी एक महान नेता हुन्, तर म बुझ्दैन कि उनी विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका नेता हुँदाहुँदै पनि पुटिन र सी जिनपिङसँग किन हात मिलाइरहेका छन्।” उनले भारतका जनतालाई देशमा भइरहेका घटनाक्रमबारे बुझ्न आग्रह गर्दै ‘ब्राह्मणहरूले भारतीय जनताको खर्चमा नाफा कमाइरहेका छन्’ भन्ने टिप्पणी गरे।

यसअघि पनि नाभारोले रुसी तेल खरिद गरेकोमा भारतको आलोचना गरिसकेका छन्। गत हप्ता ब्लूमबर्ग टिभीलाई दिएको एक अन्तर्वार्तामा उनले रुस-युक्रेन युद्धलाई वास्तवमा ‘मोदीको युद्ध’ भनेका थिए।

हाल भारतले रुसी तेल खरिद गरेको भन्दै अमेरिकाबाट ५० प्रतिशत भन्सार शुल्कको सामना गरिरहेको छ। अमेरिकाको तर्क छ कि रुसी तेल खरिद गरेर भारतले युक्रेन युद्धका लागि रुसलाई आर्थिक सहयोग गरिरहेको छ। नाभारोको यो बयानले भारत-अमेरिका सम्बन्धमा थप तनाब उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ।