तरुण संवाददाता
१६ भाद्र २०८२, सोमबार १७:००
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ। अस्पतालमा आयोजित एक कार्यक्रमका बीच मेसिन हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सेवाको शुभारम्भ गरेका हुन्।
मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर लागिपरिरहेको बताए। ‘क्षयरोगको यथासक्य छिटो निदान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय प्रतिबद्ध भएर कार्य गरिरहेको छ,’ उनले भने, ‘यस अस्पतालमा सुरु भएको सेवा तथा जडान भएको अत्याधुनिक मेसिनले क्षयरोगको पहिचान गरी बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान दिने विश्वास हामीले लिएका छौं ।’
यसअघि सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग परीक्षणको सुविधा नहुँदा त्यहाँ उपचारका लागि आउने बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता थियो। यस सेवाले सशस्त्र प्रहरीका कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारण नागरिकलाई समेत छिटो र भरपर्दो परीक्षण सेवा सुनिश्चित गर्नेछ।
‘क्षयरोगमुक्त नेपाल बनाउने हाम्रो राष्ट्रिय अभियानमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले भने, ‘आज जडान भएको यस मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीहरूलाई मात्र दुई घण्टामा क्षयरोगको निदान रिपोर्ट उपलब्ध गराउनेछ।’
स्वास्थ्य मन्त्रालयले करिब ५० लाख रुपैयाँको लागतमा उक्त मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो। नेपाल सरकारले क्षयरोग निदानलाई सहज र प्रभावकारी बनाउन देशभरका विभिन्न अस्पतालहरूमा क्षयरोग उपचार सेवा विस्तार गर्दै आएको छ।
हालसम्म देशका १२८ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरूबाट यो सेवा सफलतापूर्वक सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सशस्त्र प्रहरी अस्पतालमा यो सेवाको विस्तारले राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई थप बल पुऱ्याउने अपेक्षा गरिएको छ।


