तरुण खबर
१७ भाद्र २०८२, मंगलवार ११:५०
काठमाडाैं, १७ भदाै । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ अन्तर्गत पहिलो चरणको इकाई बाँडफाँड सम्पन्न भएको छ। यो खुलामुखी योजनाको पहिलो चरणमा ५ करोड इकाईको लागि मागभन्दा बढी आवेदन परेको थियो।
साउन २९ गतेदेखि भदौ १२ गतेसम्म बिक्री खुला गरिएको उक्त ५ करोड इकाईको लागि कुल ८२,८२८ जना आवेदकले करिब ७४ करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए। यो प्रारम्भिक इकाई संख्याभन्दा १.४८ गुणा बढी माग हो।
क्यापिटलका अनुसार, ९१ जना आवेदकका १४,६०० इकाईको आवेदन रितपूर्वक नदेखिएकाले बाँडफाँडमा समावेश गरिएन। बाँकी ८२,७३७ जना योग्य आवेदकलाई उनीहरूको मागअनुसार नै सम्पूर्ण इकाई बाँडफाँड गरिएको हो। बाँडफाँड भदौ १६ गते सोमबार, दिउँसो ४:३० बजे क्यापिटलको थापाथलीस्थित कार्यालयमा सम्पन्न भएको थियो।
यस योजनालाई नेपाल धितोपत्र बोर्डले बीज पुँजीसहित कुल १० करोड इकाई बिक्री गर्न स्वीकृति दिइसकेको छ। अहिले बाँडफाँड गरिएको ५ करोड इकाई पहिलो चरण मात्र हो।
बाँडफाँड मितिले तीन महिनाभित्र यो योजनाको नियमित कारोबार सुरु हुनेछ। त्यसपछि लगानीकर्ताले इकाईको खरिद-बिक्री, साथै एसआईपी र मिनी एसआईपीको सुविधा पनि प्राप्त गर्न सक्नेछन्।


