तरुण खबर
१८ भाद्र २०८२, बुधबार १२:४४
काठमाडाैं, १८ भदाै । नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको भन्ने भनाइ अब पूर्ण रूपमा सत्य नरहेको पाइएको छ। लाखौं नेपालीले विदेशबाट अर्बौं रुपैयाँ पठाउँदै गर्दा नेपालबाट पनि ठूलो मात्रामा रेमिट्यान्स बाहिरिन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, पछिल्लो वर्षमात्रै विदेशी कामदारले ११ अर्ब १७ करोड २३ लाख रुपैयाँभन्दा बढी रकम आफ्नो देश पठाएका छन्, जुन हालसम्मकै उच्च हो।
अघिल्लो वर्षको तुलनामा यो रकम ८४.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष नेपालबाट ६ अर्ब ६ करोड २ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो। राष्ट्र बैंकका अनुसार नेपालबाट मासिक औसत ९३ करोड १० लाख रुपैयाँ रेमिट्यान्स बाहिरिने गरेको छ।
नेपालबाट रेमिट्यान्स बाहिरिनुको मुख्य कारण ठूला पूर्वाधार आयोजना, जलविद्युत् निर्माण र विदेशी लगानीका कम्पनीहरूमा कार्यरत विदेशी श्रमिकको संख्या बढ्नु हो। विगत केही वर्षदेखि नेपालमा पूर्वाधार विकासका कामहरू तीव्र गतिमा अघि बढेकाले चिनियाँ र भारतीय कामदारहरूको संलग्नता बढेको छ।
राष्ट्र बैंकका अनुसार, विदेशी श्रमिकले आफ्नो कमाईको ७५ प्रतिशतसम्म रकम स्वदेश पठाउन सक्छन् भने बाँकी २५ प्रतिशत नेपालमै खर्च गर्नुपर्ने कानुनी प्रावधान छ। तर, अनौपचारिक क्षेत्रमा काम गरिरहेका भारतीय मजदुरहरूले कमाइ सिधै आफ्नो देश लैजाने हुँदा बाहिरिने वास्तविक रेमिट्यान्सको आँकडा अझै धेरै हुनसक्ने अनुमान गरिएको छ।
यद्यपि, सोही अवधिमा नेपालले १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत बढी हो। यसले नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको महत्त्व अझै ठूलो रहेको देखाउँछ।
तर, रेमिट्यान्स बाहिरिने प्रवृत्तिले नेपालको विदेशी मुद्रा सञ्चिति, बचत दर र रोजगारी बजारमा दीर्घकालीन असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले उत्पादनशील क्षेत्रको सुदृढीकरण, स्वदेशी श्रमिकको सीप विकास र विदेशी श्रमिकको पारदर्शी व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।


