काठमाडाैं, १८ भदाै । बीमा प्राधिकरणले बीमा कम्पनीहरूको लगानीलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। ‘बीमकको लगानी सम्बन्धी निर्देशिका, २०८२’ ले कम्पनीहरूलाई लगानी व्यवस्थापनका लागि स्पष्ट बाटो देखाएको छ। यसको मुख्य उद्देश्य बीमा कम्पनीहरूको दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्नु हो।
निर्देशिकाका मुख्य बुँदाहरू:
- कोषको छुट्टाछुट्टै व्यवस्थापन: अब जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूले पोर्टफोलियोअनुसार कोष र सम्पत्तिको व्यवस्थापन अलग–अलग गर्नुपर्नेछ। सेयरधनी कोष र बीमा कोषमार्फत भएका लगानीको लेखांकन पनि छुट्टै गर्नुपर्नेछ।
- सरकारी ऋणपत्रमा बढ्यो लगानी: नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा लगानीको सीमा २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याइएको छ। यदि यो सीमामा लगानी गर्न नसकेको अवस्थामा भने वाणिज्य वा पूर्वाधार बैंकको मुद्दति निक्षेपमा लगानी गर्नुपर्नेछ।
- बैंक तथा वित्तीय संस्थामा लगानी: ‘क’ वर्गका वाणिज्य बैंक र पूर्वाधार विकास बैंकमा ३० प्रतिशतसम्म, ‘ख’ वर्गका विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थामा ७ प्रतिशतसम्म लगानी गर्न सकिनेछ।
- सेयर बजारमा लगानीको सीमा वृद्धि: सूचीकृत कम्पनीको साधारण सेयरमा लगानीको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ। तर, एउटै कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी भने लगानी गर्न पाइने छैन।
- अन्य क्षेत्रमा लगानी: नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म र घरजग्गा व्यवसायमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था पनि निर्देशिकामा गरिएको छ।
यस निर्देशिकाले बीमा कम्पनीहरूको लगानीलाई सुरक्षित, पारदर्शी र विविधीकरण गर्दै समग्र बीमा क्षेत्रलाई थप बलियो बनाउने प्राधिकरणले जनाएको छ। साथै, अब बैंक तथा वित्तीय संस्थामा गरिएको मुद्दति निक्षेप पनि बीमा प्राधिकरणको नाममा ‘एयरमार्क’ गर्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ।
Post Views: 92