तरुण खबर
१८ भाद्र २०८२, बुधबार १३:१७
काठमाडाैं, १८ भदाै । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बुधबार थप ५० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले आज, भदौ १८ गते, बोलकबोलमार्फत २५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।
यो रकम बैंकहरूबाट मध्यान्ह ३ बजेसम्ममा बोलकबोलमार्फत संकलन गरिनेछ। यसको साँवा तथा ब्याज आगामी असोज १२ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने गरी रकम तोक्न सक्नेछन्। निक्षेप संकलनको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण गरिनेछ।
यो बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले पछिल्लो समयमा बजारमा तरलता व्यवस्थापन गर्न यस्ता उपकरणको प्रयोगलाई निरन्तरता दिँदै आएको छ।


