तरुण खबर
२० भाद्र २०८२, शुक्रबार १३:१४
काठमाडाैं, २० भदाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा ‘लिडरसिप फर ट्रान्सफर्मेसन इन लुम्बिनी: अ सेमिनार अन ड्राइभिङ्ग पर्फमेन्स एन्ड रिजनल एक्सेलेन्स’ शीर्षकमा एक विशेष कार्यक्रम आयोजना गरेको छ। यस सेमिनारमा प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक र अन्य सहकर्मीहरू सहभागी थिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको उक्त सेमिनारमा बैंकको गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा गरिनुका साथै चालु आर्थिक वर्षका प्राथमिकताहरूमाथि गहन छलफल भएको थियो। यसले केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।
हालै अन्य प्रदेशहरूमा पनि यस्तै प्रकारका सेमिनारहरू सञ्चालन गरिएको थियो, जसको निरन्तरताका रूपमा लुम्बिनी प्रदेशमा यो कार्यक्रम गरिएको हो।
सिटिजन्स बैंकको उपलब्धि
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा सिटिजन्स बैंकले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीजस्ता सूचकहरूमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ। बैंकले कोषको लागत घटाउने, बेस रेट कम गर्ने र कर्जा जोखिम व्यवस्थापनमा पनि उल्लेखनीय सुधार ल्याएको जनाएको छ।
बैंकले हालै ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्नुका साथै विभिन्न नवीनतम सेवाहरू पनि सुरु गरेको छ। यसमा फोनपेसँगको सहकार्यमा नेपालमा पहिलो पटक सञ्चालनमा आएको ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, फ्रिल्यान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिल्यान्सर सेविङ्ज् अकाउन्ट’, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर सेवा, तथा अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट क्युआर स्क्यान गरी नगद निकाल्न सकिने क्रस बैंक टेलर सुविधाजस्ता सेवाहरू पर्दछन्।
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरू मार्फत १९ लाख ३४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


