तरुण खबर
२२ भाद्र २०८२, आईतवार ११:३६
काठमाडाैं, २२ भदाै । बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जनाले आवेदन दिएका छन्। सरकारले गत भदौ १३ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो। आवेदन दिने म्याद शुक्रबार सकिएको छ।
प्राधिकरणको नेतृत्व सम्हाल्नका लागि १३ जनाले इच्छा देखाएका छन्। आवेदन दिनेहरूमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, महेश्वर न्यौपाने, प्रा.डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे र पारस काफ्ले रहेका छन्।
आवेदकहरूमध्ये दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् भने चिन्तामणी शिवाकोटी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन्। त्यसैगरी, देवकुमार ढकाल र डा. राजेन्द्र पण्डित पनि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।
सरकारले योग्य उम्मेदवारहरूको मूल्याङ्कन गरी केही समयमै अध्यक्षको टुंगो लगाउनेछ।


