तरुण खबर
२२ भाद्र २०८२, आईतवार १२:४०
काठमाडाैं, २२ भदाै । लामो समयदेखिको सुस्तता पछि नेपाली अटोमोबाइल बजारमा चहलपहल बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८१-८२ मा सहज कर्जा र घटेको ब्याजदरका कारण सवारी साधन खरिदमा उपभोक्ताको उत्साह देखिएको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, हायर पर्चेज शीर्षकमा एकै वर्षमा ४ अर्ब ५९ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको छ। यससँगै, कुल हायर पर्चेज कर्जाको आकार १ खर्ब २४ अर्ब १० करोडबाट बढेर १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। यो वृद्धिमा निजी सवारी साधन खरिदमा भएको आकर्षणको मुख्य भूमिका रहेको छ। निजी सवारी कर्जा १५.६ प्रतिशतले वृद्धि भई ४२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
यद्यपि, व्यावसायिक प्रयोजनका लागि सवारी कर्जा भने १.३२ प्रतिशतले घटेको छ।
ब्याजदर घट्दा उपभोक्तालाई राहत
बैंकहरूको औसत आधार दर ६.५ प्रतिशतसम्म झर्दा सवारी खरिदका लागि ८ प्रतिशत हाराहारीको ब्याजदरमा कर्जा उपलब्ध भएको छ। यसले मासिक किस्ता सुलभ हुन गई उपभोक्ताहरूलाई गाडी किन्न थप प्रेरित गरेको छ।
बैंकहरूको लगानीको अवस्था
वाणिज्य बैंकहरूले मात्रै हायर पर्चेज कर्जामा ५.८२ प्रतिशत वृद्धि गरेका छन्। यसमा ग्लोबल आइएमई बैंक १५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी लगानीसहित शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, नबिल बैंकले ११ अर्ब ४३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्।
सवारी कर्जा वृद्धिमा एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ। एक वर्षमै यस बैंकले आफ्नो कर्जाको आकार ५९.९२ प्रतिशतले बढाएको छ। नेपाल एसबीआई, कृषि विकास र सानिमा बैंकले पनि यस क्षेत्रमा उल्लेख्य लगानी बढाएका छन्।
अर्कोतर्फ, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, कुमारीलगायतका १० बैंकले भने सवारी कर्जा घटाएका छन्। एनआईसी एशिया बैंकको हायर पर्चेज कर्जा ४०.१९ प्रतिशतले घटेको छ।


