काठमाडौंमा ट्राफिक जाम: जेनजी प्रदर्शन र राष्ट्रपतिको सवारीले अस्तव्यस्त

काठमाडौंमा ट्राफिक जाम: जेनजी प्रदर्शन र राष्ट्रपतिको सवारीले अस्तव्यस्त तरुण खबर २३ भाद्र २०८२, सोमबार १२:०६
काठमाडौंमा ट्राफिक जाम: जेनजी प्रदर्शन र राष्ट्रपतिको सवारीले अस्तव्यस्त

काठमाडाैं, २३ भदाै । जेनजी पुस्ताको प्रदर्शन र राष्ट्रपतिको सवारीका कारण आज काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। माइतीघर मण्डलामा भइरहेको जेनजी प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ। यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलको सवारीले पनि थप जाम निम्त्याएको छ।

राष्ट्रपति पौडेल बिहान ११ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित मानव अंग प्रत्यारोपणसम्बन्धी कार्यक्रममा सहभागी हुन गएका थिए। उनी शीतल निवासबाट १०:४५ मा निस्किएर १५ मिनेटभित्र भृकुटीमण्डप पुग्ने तालिका रहेको थियो। यसका कारण महाराजगञ्ज-रत्नपार्क सडक खण्डमा अन्य सवारीसाधनलाई रोक लगाइएको थियो।

राष्ट्रपति पौडेलले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा आयोजित कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका १५ सय बिरामी र चिकित्सकलाई सम्मान गरेका छन्। उनी १२ बजे शीतल निवास फर्किएका छन्।

यता, माइतीघर मण्डलामा जेनजी प्रदर्शनकारीहरूको संख्या निरन्तर बढिरहेको छ। प्रदर्शनका कारण माइतीघर-नयाँ बानेश्वर सडक खण्डमा ट्राफिक प्रहरीले सवारीसाधनलाई वैकल्पिक मार्गबाट पठाउने तयारी गरेको छ। प्रहरी स्रोतका अनुसार, राष्ट्रपति र जेनजी प्रदर्शनका कारण उपत्यकाभरिको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। प्रदर्शनमा स्ट्यान्डबाइ राखिएका प्रहरीहरूलाई राष्ट्रपतिको सवारीका लागि समेत खटाइएको थियो।