तरुण खबर
२५ भाद्र २०८२, बुधबार ११:३१
काठमाडाैं, २५ भदाै । सर्वोच्च अदालतमा आज र भोलिदेखि तय भएका सबै मुद्दाको सुनुवाइ अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको छ। मंगलबारको जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट अदालतको भवनमा ठूलो क्षति पुगेपछि यो निर्णय गरिएको हो।
आगलागीका कारण इजलास, मुद्दाका मिसिल र महत्त्वपूर्ण सर्भरहरू पूर्ण रूपमा नष्ट भएका छन्। जसले गर्दा अदालतको नियमित काम कारबाही सञ्चालन गर्न असम्भव भएको बताइएको छ। अदालतका कर्मचारी र न्यायाधीशहरूबीचको छलफलपछि अनिश्चितकालका लागि सुनुवाइ स्थगित गर्ने निर्णयमा पुगिएको हो।
यस घटनाले न्याय सम्पादन प्रक्रियामा गम्भीर असर पुर्याएको छ। अदालतको काम कहिलेबाट सुचारु हुने भन्नेबारे कुनै जानकारी दिइएको छैन।



