तरुण खबर
२६ भाद्र २०८२, बिहीबार ०८:४०
काठमाडाैं, २६ भदाै । रामेछाप जिल्ला कारागारमा सामूहिक रूपमा भाग्ने प्रयास गरेका कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा १२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पुष्टि गरेका छन्।
बिहीबार बिहान करिब ३०० भन्दा बढी कैदीबन्दीहरूले कारागारभित्रका सबै तालाहरू फोडेर भाग्ने प्रयास गरेका थिए। उनीहरू मुख्य गेटको ताला तोडेर बाहिर निस्कने प्रयास गरेपछि अवस्था नियन्त्रणबाहिर जान नदिन नेपाली सेनाले गोली चलाएको थियो।
घटनापछि सबै कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ र अहिले अवस्था सामान्य रहेको बताइएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
रामेछाप नगरपालिका-८ डाँडामा रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


