प्रदीप पौडेलका ६ बुँदे सुझाव: अन्तरिम सरकारदेखि संविधान संशोधन र कांग्रेस नेतृत्व परिवर्तनसम्म

प्रदीप पौडेलका ६ बुँदे सुझाव: अन्तरिम सरकारदेखि संविधान संशोधन र कांग्रेस नेतृत्व परिवर्तनसम्म तरुण खबर २६ भाद्र २०८२, बिहीबार ०९:१०
प्रदीप पौडेलका ६ बुँदे सुझाव: अन्तरिम सरकारदेखि संविधान संशोधन र कांग्रेस नेतृत्व परिवर्तनसम्म

काठमाडाैं, २६ भदाै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मुलुकमा उत्पन्न विषम परिस्थितिको समाधानका लागि ६ बुँदे कार्ययोजनासहितको विज्ञप्ति जारी गरेका छन्। ‘जेनजी’ आन्दोलनको समर्थन गर्दै उनले भ्रष्टाचारको अन्त्य, संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

पौडेलले प्रस्तुत गरेका प्रमुख सुझावहरू:

  • अन्तरिम सरकारको गठन: तत्कालको राजनीतिक शून्यता अन्त्य गर्न, स्थिरता र विधिको शासन कायम गर्न राष्ट्रिय सहमतिको अन्तरिम सरकार गठन गर्नुपर्ने। यसका लागि जेनजी आन्दोलनकारी र सबै राजनीतिक दलहरूसँग संवाद थाल्नुपर्ने।
  • उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग: आन्दोलनका क्रममा भएको बल प्रयोग, मानवीय तथा भौतिक क्षतिको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय स्वतन्त्र न्यायिक जाँचबुझ आयोग गठन गर्नुपर्ने।
  • भ्रष्टाचार छानबिन आयोग: २०४६ सालपछि मुख्य पदमा रहेका राष्ट्रसेवक र दलका मुख्य नेताहरूको भ्रष्टाचार तथा सम्पत्ति छानबिन गरी सबै सम्पत्ति राष्ट्रियकरण गर्न अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने।
  • संविधान संशोधन: प्रणालीगत सुधारका लागि जेनजी, राजनीतिक दल, संवैधानिक विज्ञसहितको समिति गठन गरी संविधान संशोधनको योजना बनाउनुपर्ने। उनले प्रत्यक्ष निर्वाचित १०५ सदस्यीय प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा सांसद संख्या घटाउने लगायतका सुझाव दिएका छन्।
  • निजामती र सुरक्षा निकायमा सुधार: देश र जनताप्रति बफादार तथा सक्षम संस्था र प्रणाली निर्माणका लागि निजामती प्रशासन र सुरक्षा निकायमा आमूल सुधार तथा पुनर्संरचना गर्नुपर्ने।
  • कांग्रेस नेतृत्व परिवर्तन: मुलुकलाई निकास दिन तत्काल केन्द्रीय समितिको बैठक बोलाएर राष्ट्रिय सरकारबारे पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने। साथै, हालको पार्टी नेतृत्वले राजीनामा गरी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने मागसमेत उनले राखेका छन्।

पौडेलले ‘जेनजी’ आन्दोलनलाई भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक खबरदारी भन्दै यसमा भएको ज्यादतीको घोर भर्त्सना गरेका छन्। साथै, शान्ति स्थापनाका लागि राष्ट्रपतिज्यूले थालेको संवाद पहलको स्वागत गर्दै सबैलाई संयम र संवादको बाटोमा आउन आग्रह गरेका छन्।