डा. बाबुराम भट्टराईको सुझाव: जेनजी आन्दोलनले संवैधानिक बाटो नछोडोस्

डा. बाबुराम भट्टराईको सुझाव: जेनजी आन्दोलनले संवैधानिक बाटो नछोडोस् तरुण खबर २६ भाद्र २०८२, बिहीबार १०:१३
डा. बाबुराम भट्टराईको सुझाव: जेनजी आन्दोलनले संवैधानिक बाटो नछोडोस्

काठमाडाैं, २६ भदाै । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजी (GenZ) को आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु सुखद भएको बताएका छन्। उनले आन्दोलनलाई संवैधानिक बाटोमै फर्काउन आग्रह गर्दै ‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ खतरा रहेको चेतावनी दिएका छन्।

एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले केही व्यक्तिले भनेजस्तो देश संविधानविहीन अवस्थामा नपुगेको स्पष्ट पारेका छन्। ‘सरकारले राजीनामा गरे पनि लोकतन्त्रका आधारभूत अंगहरू संविधान, संसद, राष्ट्राध्यक्ष (राष्ट्रपति–उपराष्ट्रपति) र राज्यका स्थायी अंगहरू यथावत् छन्,’ उनले भनेका छन्, ‘यी संस्थाहरूलाई टेकेर नै अघि बढ्न नयाँ नेपालका अगुवा जेनजीहरू चुक्नुहुन्न।’

उनका अनुसार अहिलेको सबैभन्दा जरुरी विषय आन्दोलनमा उठेका मागहरूको सम्बोधन र शीघ्र आम निर्वाचन हो। त्यसका लागि आन्दोलनकारीसमेतको सिफारिस र सहभागितामा अन्तरिम सरकार गठन गर्नुपर्ने उनको सुझाव छ। डा. भट्टराईले यो कदम वर्तमान संविधानको परिधिभित्र रहेर मात्रै चाल्नुपर्नेमा जोड दिएका छन्। अन्यथा, ठूलो अनिष्ट हुन सक्ने उनको भनाइ छ।

https://www.facebook.com/share/19SCqcEkWY/