तरुण खबर
२७ भाद्र २०८२, शुक्रबार १०:५६
काठमाडाैं, २७ भदाै । जेन्जी आन्दोलनका प्रदर्शनकारीहरूको आक्रोशको शिकार बनेको भाटभटेनी सुपरमार्केटले पुन: सञ्चालनमा आउने प्रतिबद्धता जनाएको छ। देशभरका विभिन्न शाखाहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाबाट ठूलो आर्थिक क्षति बेहोरे पनि भाटभटेनीले आशावादी हुँदै पसलहरू पुनःनिर्माण गर्ने बताएको छ।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै भाटभटेनीले भनेको छ, “दु:खद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसलहरू ध्वस्त भए पनि, तपाईहरूको साथले हामीलाई अझ बलियो महसुस गराएको छ। हजारौं सहयोगी हातहरूले हामीलाई सफा गर्न, आँसु पुछ्न र फेरि उठ्न मद्दत गरिरहेका छन्।”
भाटभटेनीले ग्राहकहरूको समर्थन र सहयोगप्रति आभार व्यक्त गर्दै पुनर्निर्माणको काम क्रमिक रूपमा अघि बढिरहेको जानकारी दिएको छ। कम्पनीले ग्राहकहरूको विश्वास र सकारात्मक ऊर्जालाई आफ्नो प्रेरणाको स्रोत मानेको छ।
‘भाटभटेनी फेरि उभिनेछ, तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं,’ सन्देशमा भनिएको छ। यसरी विषम परिस्थितिमा पनि भाटभटेनीले आफ्नो व्यवसायिक यात्रालाई निरन्तरता दिने र ग्राहकहरूलाई सेवा प्रदान गर्ने संकल्प गरेको छ।



