तोडफोड र आगजनी गर्नेको भिडियो र फोटो पठाइदिन प्रहरीको आग्रह

तोडफोड र आगजनी गर्नेको भिडियो र फोटो पठाइदिन प्रहरीको आग्रह तरुण संवाददाता २७ भाद्र २०८२, शुक्रबार १६:५३
तोडफोड र आगजनी गर्नेको भिडियो र फोटो पठाइदिन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा जेनजीले गरेको प्रदर्शन तथा आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्नेको तस्बिर र भिडियो उपलब्ध गराइदिन आह्वान गरेको छ ।

दुई दिन अप्रिय घटना, आगजनी, लुटपाट, आमसर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका विविध घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकसमेत भए उपलब्ध गराइदिन आग्रह गरेको हो ।

जेनजी आन्दोलनका क्रममा घुसपैठियाहरूले सरकारी र व्यक्तिका घर र सम्पत्ति छानीछानी लुटपाट, तोडफोड र आगजनी गरेका दृश्य सामाजिक सञ्जालमा भाइरल छन् । जसकारण समाजमा त्रासको वातावरण उत्पन्न भएको छ । अहिलेसम्म पनि नेपाली समाज बाहिर खुलेर हिँड्न र बोल्न सकेको छैन । दुई दिने प्रदर्शनका क्रममा खर्बौं मूल्य बराबरको सम्पत्ति नष्ट मात्र भएको छैन, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा नष्ट गरिएका छन् ।

जेनजीले सहरी विद्रोह र आगजनीमा आफूहहरूको संलग्नता नभएको स्पष्ट पारेको छ । जेनजीको आन्दोलनमा आफ्नो स्वार्थपूर्ति गर्न लागेका व्यक्तिहरूको भिडियो र तस्बिर आफूसँग रहेको प्रहरीले दाबी गरेको छ । अहिले ती सबै अनुसन्धानका क्रममा रहेको प्रहरीको भनाइ छ । गत चैत १५ मा तीनकुने घटनामा भएको विध्वंशमा सहभागीलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याएको थियो । पहिलेभन्दा यसपटक धेरै फुटेज प्राप्त गरेको प्रहरीले जनाएको छ ।