तरुण खबर
२९ भाद्र २०८२, आईतवार १०:०९
काठमाडाैं, २९ भदाै । गत मंगलबार जेन जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले देशमा ठूलो क्षति पुर्याएको छ । यसले अर्बौं होइन, खर्बौं रुपैयाँ बराबरका भौतिक संरचनाहरू ध्वस्त भएको अनुमान गरिएको छ । हालसम्म क्षतिको कुनै औपचारिक मूल्यांकन नभए पनि आगामी अन्तरिम सरकारले यसको मूल्यांकन गरी पुनर्निर्माणको काम सुरु गर्न सक्ने बताइएको छ ।
यो विध्वंश एक दुःखद घटना भए पनि अब यसको नवनिर्माणलाई आर्थिक गतिशीलताको अवसरको रूपमा लिन सकिने विश्लेषण गरिएको छ । लामो समयदेखि सुस्त रहेको नेपालको निर्माण क्षेत्रलाई यस घटनाले चलायमान बनाउन सक्छ ।
क्षतिग्रस्त सार्वजनिक भवनहरूको पुनर्निर्माण र मर्मतमा सरकारले ठूलो बजेट खर्च गर्नुपर्ने देखिन्छ । यसका लागि सरकारले पुरक बजेट ल्याउन सक्ने सम्भावना छ, जसले विकास निर्माणका अन्य क्षेत्रमा छुट्याइएको बजेटको केही हिस्सा कटौती गर्न सक्छ । यद्यपि, यो खर्चले निर्माण सामग्रीको बिक्री र निर्माण क्षेत्रमा रोजगारी बढाउनेछ ।
निजी र व्यावसायिक भवनहरूमा भएको क्षतिका कारण निर्माण सामग्रीको माग ह्वात्तै बढ्ने अपेक्षा गरिएको छ । खासगरी, रङ्ग, फर्निचर, काठ, पर्दा, कार्पेट, टायल, पाइप, बिजुलीका सामान, सिसा, इलेक्ट्रोनिक्स, फलाम र सिमेन्टजस्ता सामग्रीको बिक्रीमा वृद्धि हुनेछ । नजिकै आउँदै गरेको दशैँले गर्दा निजी क्षेत्र र व्यावसायिक प्रतिष्ठानहरूले तत्काल मर्मत र खरिदका कामहरू सुरु गर्ने सम्भावना छ ।
बजारलाई थप चलायमान बनाउन सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने र सकारात्मक वातावरण बनाउने प्रयास गर्नुपर्ने देखिन्छ । आन्दोलनका क्रममा आफ्नो सम्पत्तिमा क्षति पुगेका धेरै व्यवसायीले हिम्मत नहार्ने र अझ दरिलो भएर अघि बढ्ने अभिव्यक्ति दिनुले पनि नेपाली अर्थतन्त्र सही दिशामा उन्मुख हुने सम्भावना देखिएको छ ।
अहिलेको विध्वंशलाई नवनिर्माणको अवसरको रूपमा लिएर अघि बढेमा यसले आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्रलाई गति दिन सक्ने विश्लेषकहरूको भनाइ छ ।


