तरुण खबर
२९ भाद्र २०८२, आईतवार १४:२४
काठमाडाैं, २९ भदाै । किशोर तथा युवा पुस्ताको ‘जेनजी आन्दोलन’ को जगमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पदभार ग्रहण गर्ने क्रममा आन्दोलनमा षडयन्त्र भएको गम्भीर आरोप लगाएकी छिन्। भदौ २३ र २४ गते भएको २७ घण्टाको आन्दोलनका क्रममा देशका महत्त्वपूर्ण र अति आवश्यक दस्तावेजहरू जलाइएकोप्रति उनले आपत्ति जनाएकी हुन्।
सिंहदरबारमा पदभार ग्रहण गर्दा उनले भनिन्, “मुलुकको अत्यन्त आवश्यक संस्थाहरूमा छानिछानि प्रहार भएको छ। यो देखेर मलाई लाज लागेको छ। नेपाली नै भएर यस्तो काम गर्नेलाई नेपाली कसरी भन्ने?” उनले भौतिक संरचनाको क्षति पुनर्निर्माण गर्न सकिए पनि कागजातहरू पुनः प्राप्त गर्न नसकिने कुरामा जोड दिँदै काठमाडौँ र तराईका अधिकांश अदालतहरू ध्वस्त पारिएको घटनाप्रति सन्देह व्यक्त गरिन्। उनले यो एउटा ‘नियोजित षडयन्त्र’ हुन सक्ने भन्दै यसको अनुसन्धान हुनुपर्ने बताइन्।
यसैबीच, चैत १५ को आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंले नेपाली सेनाका प्रधान सेनापतिलाई सम्बोधन गर्दै एक लामो फेसबुक पोस्ट गरेका छन्। उनले ‘विदेशी शक्तिको पैसा र निर्देशनमा चलाइने आन्दोलनबाट नेपाल र नेपालीको भाग्यमा दिगो परिवर्तन सम्भव नहुने’ उल्लेख गर्दै नेपाललाई प्रयोग गरी छिमेकी मुलुकहरूविरुद्ध षड्यन्त्र गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।
जेनजी आन्दोलनको नेतृत्वमा नयाँ नेताको रूपमा सुधन गुरुङको उदय भएको छ। आन्दोलनको पहिलो दिन आफूहरू आयोजक नभएर स्वयंसेवक मात्र भएको बताएका उनै सुधनले नेपाली सेनाका एक रथीलाई फोन गरेर दुई घण्टाभित्र सुशीला कार्कीलाई प्रधानमन्त्री घोषणा नगरे शितलनिवास घेराउ गर्ने र राष्ट्रपतिलाई आक्रमण गर्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा आएको थियो। यद्यपि, आन्दोलनका लागि प्रशासनसँग अनुमति माग्न गएका दुई युवा अझै बेपत्ता छन्।
कार्की प्रधानमन्त्री भएपछि ब्रिटेन र निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले सबैभन्दा पहिले स्वागत गरेका थिए। यी सबै घटनाक्रमले पछिल्लो राजनीतिक परिवर्तन साँच्चै युवाहरूको चाहना थियो वा उनीहरूलाई कसैले प्रयोग गरेको हो भन्ने विषयमा थप प्रश्नचिह्न खडा भएको छ।


